मृत दूनको एक भरिया

भोकले बिझाएको शिथिल हाडछाला
विपूल बोझले लड्खडाएर
एक आपसमा स्वतन्त्र बन्ने प्रयासमा
परितप्त रक्त—पसिनाले गिल्गिलिएको छ ।
वर्षाते जलधारामा नाँचेको
पहाडी टुप्पाका देहाती झुप्राहरु,
शोषण र चुसाइले चाउरिएर नाङ्गिएका
आफ्नै स्वामित्वमा नभएका मधेसी तृणकुटीहरु
यी भन्दा पनि जीर्ण भग्नावशेष
तण्डुल र चुनाको किम्मती गासलाई
पूरै दिनको बेचबिखनको मुल्यले
एक नशालु प्यालाको रगिंन दुनियाँले मेटेको छ ।
जिन्दगीका कयैन् आशा र सपनाहरुको रफ्तारमा
उहि रगिंन संसारको गर्तमा
उसले आफ्नो बालबनिताको प्यास विलाएको छ ।

सीमाहिन आश्रयले मृतप्रायः उपत्यका
विकट महामारी नबनेसम्म
उ आफ्नो असली चेहेरा देख्न सक्दैन ।
यहि चपरीमा टेकेर
निर्जन सहरसँगको सौदाबाजीमा
नोकरशाहको अफ्वाह र ठूआमा
आफ्नै स्वार्थले चिमोटिएर
कसैको जोलियाको जरह
आफ्नै जिजीविषामा दुखाउनु मात्र हो ।

रौद्र तन्देहमा,
पुर्खौली विरासतको असीमित गुन
मानवशुलभताको बज्रपातले पिल्सिएर
उसले उमारेको कोमल मृत्युको अहिस
होहल्ला र अनियन्त्रित रङ्गमञ्चमा
चनकमन्द पात्रको विश्रामबारी
र उसका अजेय, अभिरु भावभङ्गीको
नाटकिय उत्कट विजिगीषा
सांसारिक ललहरीले विप्रलब्ध छ ।

उ आफ्नै कारणले खाली छ
उ सायद प्रारब्धले नै रित्तो छ
उन्नत मानव बस्तीमा, मानविय हाँचले पनि
उसले खुकुलो श्वास नभेट्नु
र यो घिउ नलाग्ने हुज्जतीमा
मेरो खल्वाटको क्षेत्रफल बढाउनुमा
म मान्छे माथि क्रोध छ ।
उसका चिरसञ्चित जोसहरु
कुनै समयको गम्भिर मुल्यको सामथ्र्यमा छ,
उसका खिइएका हाडछालामा
मानव अवमूल्यनले विद्युतीकरण गर्दैछ ।


तर आज,
श्रमशक्ति मुल्यहिन बनेको छ
मानव हृदयमा काँडा उम्रेका छन्
कठोर दुर्दम श्रम नियती बनेको छ
आज केही बाध्यता छैन,
कोही भोकले मर्नु –उसको मौलिकता हो
कोही नबाँची मर्नु –उसको आफ्नै महत्वकांक्षा हो ।
उफ ! लाग्छ मान्छे पैसा बनेको छ
पैसै—पैसाको दूनमा उ निर्धनताले मूक छ
पैसाको थैलीमा उ पैसा खोजिरहेछ
हाय ! त्यो मृत दूनको एक अजिब भरिया ।।।

0 comments: