Before 2067 Falgun ...



यो कुनै कृतिम, मनगढन्ते र सस्तो कल्पनामा फुलबुट्टा भरेर रचना गरिएको साहित्य होइन अनि यो कुनै बौलाहाको आत्मकथा पनि होइन । न यसमा सम्मान वा प्रशंसाको ठूलो ताज ओढ्ने ध्येय नै छ । यो एउटा यस्तो जीवनको स्मृती र नियमित भोगाइ हो जो कयैन् आशाहरु, सपनाहरु र विद्रोहचेत बोकेर जीवन गोरेटोमा आयुशेषको उत्पादक मिलनको मैदान खोजी गरिरहेछ । 

एउटा जीवन जसको अन्तश्चक्षुले खोजिरहेको वस्तु नै देख्ने, सुन्ने र बोल्ने क्रियामा उपस्थित हुनु पुर्णतः सतही र अँधेरमात्र हुन्छ भन्नु आफैमा अन्यायोचित हुन्छ । यी क्रिया र प्रतिक्रियाहरु जो दुबै कठोर छन् त्यसै माथि टेकेर आफ्नो अस्तित्व खोज्नु पनि त्यति सहज भने छैन । मानविय समाजमा देखापरेका विविध आयमहरुलाई मानविय प्रयोगको लागि तयार गराउने क्रियामा यो एउटा सानो हिडाइ मात्र हो, न यो प्रयाप्त छ न यो एक्लो छ । हो मैले आँखाको पर्दा खोलेर हेर्न सकिन, हो मैले पहाडको भित्ता च्यातेर भाग्न सकिन किनकी म अनकण्टार चिप्लेटीको गौलेतो हुँ । तर पनि म मानविय गुह्यचटकहरुको हदबाट मेरो थाप्लोमा सधै चिसो बनिरहनु पर्छ भन्ने छैन जो बिस्तारै सफल हुदै गईरहेको छ । मानविय चेतनामा आउँदै गरेको चेतनाको विकास र मानिसबाट मानिस हराउँदै जाने अवस्था विचको द्वन्द्वको मात्राले पनि म मेरो नियतको नजिक पुग्दै गरेको भान भईरहेछ । यी यहाँ लेखिएका स्मृती तथा भोगाई र नियतहरुलाई केबल एउटा साहित्य पढे झै नपढेर एउटा चित्रपटमा देखिए झैँ गरी मनन गरिदिने अपेक्षा गरेको छु । र त्यस्तै आचरणको पनि आश गरेको छु । यदि यी चिजहरुलाई अध्ययन गरेर जो जीवनका उकाली ओरालीमा निरसता भन्दा पर एउटा गन्तव्यको झिल्को बोक्छ –कुनै कुनामा निक्षिप्त रुपमा रह्यो भनेपनि म मेरो कर्मको लक्ष्यभेदन भयो भन्ने मान्नेछु । 

मैले छुवाछुतका विरुद्ध, धामी, झाँक्रि र ढुङ्गो पुजाका विरुद्ध चालेका टुक्रा कदमहरु जो ट्युुसन पढ्दा रामबहादुर र नारायणबहादुर मिजारसँगको अस्वभाविक, अञ्जान र बेआँकलन बीचको आत्मिक उत्कण्ठा होस वा सुर्खेती सार्कीको घरमा पानी खाने बहानामा बुढिआमासँगको बाहुनवाद र म भित्रको मान्छेसँग चलेको साँढे जुदाईका ती पलमा निर्दोष आँखाभित्र मुत्तिको रातीगेडी खेलाउँदैका अवाक् शिशुहरुसँगका मेरा आत्मीक उत्प्रेरणहरु हुन वा घरमै कामी, दमाई, तमाङ जस्ता श्रमशिल व्यक्तिहरुप्रती दर्शाइएका सम्मानजनक व्यवहारहरु हुन वा जातिय विभेदको अन्त्यका लागि र सामजिक सन्तुलन प्राति बेगर बाहुनवादको प्रतिक तगा धारण नगर्ने चुनौतीहरु हुन वा शुन्दर श्रमशिल मान्छेमा नै दैवत्व देख्ने दृढताले ढुङ्गा पुजाप्रति उमारेको वितृष्णाका अंकुरणहरु हुन वा श्रमसम्बन्धकै आधारमा मात्र पारिवारीक संरचनाको परिभाषित गर्नुपर्ने कुरोलाई दृढ रुपमा लिई यस धर्तीलाई उच्च र शुन्दर मानवहरुले सजाउने जर्जर इच्छा बोकी साधानारत मेरा पाईलाहरु कुनैपनि अवस्थामा रोकिने अवस्थाको सृजना नहोस् यो नै मेरो जन्मभरिको उमिद छ । र सम्पत्तीको आधारमा व्यख्या हुने सम्पूर्ण सम्बन्धहरुलाई ललकार्ने साहस र उर्जाको लागि म सदा साधनारत र प्रयासरत छु जुन मार्गका जोसुुकै किसिमको मानविय अस्तित्वहरु मेरो लागि साहायक बन्न सक्छ । यी क्रियाहरु जो एउटा आगोको थुप्रोमा छ जसले प्रत्येक पल अझ बढी दहन गर्दै पीडा दिन्छ जुन त्यहि थुप्रोमा बसेर अझ जुध्नुमा सहरी इलाकामा बसेर कुनै पनि दुषित मनसुवा नराखेको भन्ने अहम्ता भन्दा लाखौ गुणा बढी कष्टप्रद छ जो एकल प्रयासमा असम्भव छ तर पनि म मेरो नियतलाई मारेर आफुलाई मान्छेका दर्जामा उभिने दुस्टता गर्र्न सक्दिन 

मेरो आफ्नै बारेमा केही कुरा लेख्नुको उद्देश्य भनेको म माथि अझ दुविधाहरु र ससंकित हेराई र बुझाइको राममायण सृजना गर्नु नै हो । जसले मेरो विगतका गल्तिहरुलाई उदाङ्गो पारी आत्मालोचना गर्दै अबका दिनहरुमा नयाँ सुुन्दर तथा सहि मार्गहरुमा पाइला चाल्न र विगतका डोबहरुलाई पुरेर दृढ बन्ने साहस बटुल्न सहयोग पु¥यओस् । यहाँ मेरा दैनिकीहरु जोडेर भन्दा पनि विगतका केहि पदचापहरुलाई संग्रहित गर्नुलाई आवश्यक ठानेको छु । जसले मेरो बारेका अझ बढी द्वविधाहरु सृजना गर्न सहयोग पु¥याओस् । 

आजको जस्तो अवस्था भएको भए म परिवारको ठम्याइ अनुसार २०४२÷१०÷२ गतेका दिन यस धर्तीमा पाइला टेक्ने थिइन होला किनकी म मेरो परिवारको ७÷८ औँ सन्तानको रुपमा जन्मेको थिएँ । तर पनि म र मेरी बहिनी यस धर्तीको सातौँ अरबका एक भएकोमा त्यती आत्मग्लानी भने छैन । दृढ मध्यम वर्गिय परिवारमा म जन्मे जसमा बिताएका ८ वर्ष मेरा स्मृतीमा कतैपनि झमझमाउँदैन । मलाई अचम्म लाग्छ मेरो ८ वर्षको स्मृतीको भण्डारण जलेकोमा । किसान परिवारमा जन्मेकोले मेरो हुर्र्काइमा प्रेममय चाच्लुपताको लोलोपोतो थिएन —मलाई केहीपनि थाहाछैन । म गाउँकै महामाया प्राविमा पढ्दै गएँ । त्यहाँ सुरुमा बस्नका लागि ढुङ्गा खोजेर लैजानु पथ्र्यो र पढाएको आएन भने ढुङ्गामाथि हात राखेर ढुङ्गाले नै हिर्काइन्थ्यो —जो निकै अनौठो थियो सम्झदै अचम्म लाग्ने साँढे सिकाइ थियो । अन्धविश्वास, कुरीको कालो वादलले हाम्रो समाज कहिल्यै मुक्त हुन सकेन जो आजको दिनसम्म पनि जिवित छ जो मलाई काँडा बनेर गडिरहेका छन् । त्यहि अन्धताको निरन्तरतामा कति पाप ग¥यो होला मेरो परिवारले त्यसको कुनै मापन मसँग छैन । म औसत विद्यार्थी भन्दा अलि माथिल्लो थिएँ । म जब त्यस स्कुलबाट जब ५ कक्षा पास गरेँ त्यसपछि म लगभग १ घण्टाको बाटोमा पर्ने टाढाको स्कुलमा पढ्न गएँ । ती दिनहरु रमाइलो थियो अखिर सिकाइको दौडमा म दायाँ बायाँ नहेरी दौडिरहेँ । म त्यो सानो संसार भन्दा टाढा चिहाउन सकिन जो म जस्ता कयौँको नियती नै थियो जो मेरो आमा बाबुभन्दा टाढा थियो जसले मलाई त्यो दुर्गमतामा आधुनिकताको टिठ बनाएको थियो । ती दिनहरु अति चञ्चलता, रुग्ण, तथा अविवेकको पराकाष्ठा नै थियो । किताब कापीहरु बनमा लुकाएर स्कुल जानु, वन जङ्गल चाहार्नु आदि । जब म कक्षा ७ बाट दोस्रा भएर कक्षा ८ मा गएँ त्यसपछि भने मेरो जीवनमा एउटा कालो विहानीको उदय भयो । कक्षा ८ को अन्तिम तिर जब म अध्ययनरत थिएँ —त्यसैबखत मकै लगाउने समयमा मेरो बुबा र दाइ केदार विहानै मकै लगाउन खेतमा गएको अवस्थामा मुसलधारे पानी र चट्याङ्गको नियतीमा मेरा सबै अभिभावकिय छत्रछाँयाको अन्त्य भयो । ठूलो पानी परेपछि गोरुलाई खेतमै रहेको चाँपको फेदमा रोकेर दाई खेतसँगैको ओढारमा गई बस्नु र बुबा भने गोरुलाई नै साथि बसेर रुखमै आड लागेर बस्नु र अकस्मात चट्याङ्गको कारण दुबै आत्माको एकै ठाउँमा यस धर्तीको गर्भमा विलिन हुनु मेरो अभिभावक तथा सुन्दर संसारको अन्त्य थियो । श्रमप्रति विश्वास गर्ने र कसैलाई पनि गुनासोको अवसर नै नदिनु मेरो बुबाको विशेषतानै थियो । जो यसै घटनाको पृष्टभूमीको दृष्टान्तले प्रमाणित गर्छ । म त्यति बेला सम्म १२÷१३ वर्षको हुदो हुँ तर पनि स्मृतीको कुनामा कतैपनि केहि छैन जसमा मेरो बुबाको प्रेममय स्पर्श र चाप्लुपताको स्मृती होस् । यो भने मेरो लागि मेरो बुबाको चित्राकृतीको स्मरणमा धोका दिने आयम बन्यो । सयद यो नियती म र मेरी बहिनीको लागि प्रकृतीले नै सुम्पेको थियो । 

आखिर यसपछि पनि म बाँच्नु थियो र म पढ्दै गएँ । मैले त्यसलाई जीवनको एउटा मोड सम्झेर भुलिदिएँ । कक्षा ९मा एक्लै ऐच्छिक गणित पढ्नु र त्यो सिकाइको अफ्ठ्यारोपनमा म असफल सरह हुनु जो मेरा स्मृतीमा नाचिरहन्छ । हुन त म राम्रो पढ्ने विद्यार्थीको रुपमा गनिन्थेँ र पनि मेरा व्यवहार र आचरणहरु भने भिन्नै प्रकृतीको थियो । सधैँ कक्षाको अन्तिम बेन्चमा बस्नु, नपढ्ने, गरिब, दलित जस्ता व्यक्तिहरुको संगत गर्नु त मेरो स्वभाविक दौडाहा थियो —हुर्काइको । त्यसै समय तिर माओवादीहरुको युद्ध पनि अगाडि बढीरहेको थियो मैले त्यसको पनि अनुभव गर्न पाएँ । त्यस समय कसैकसैको खेतीपाती नै थियो माओवादीको युद्ध — लुट्नु माओवादीको नाममा रातारात करोडौं जम्मा गर्नु त स्वभाविक प्रकृया थियो त्यसैले त्यहाँ जनताको स्वतस्फुर्त उपस्थिति थिएन र आज उनिहरु हारेर आत्मसमर्पण गरेर १९६५ को इन्डोनेसियाको झै सुहातौ न्यासुत्यानको अँगालोमा कसिन आएँ —चाहे कोहि नमाने पनि यो यथार्थ हो । जो चिन्तनको ठेक्का लिने र कर्मको भारी बोक्ने बिचको दुर्गमताको उपज थियो । बुबाको मृत्यु पछाडि घरपरिवार प्रतिको एकता र धै¥यताको बाँध अचानक टुट्यो । मन बाँधेर बसेका मेरा दाजुहरु एकाएक श्रीसम्पत्ती र आमाको भागबण्डामा जुटे । त्यस समय मेरो एस. एल. सी. दिने समय थियो जुन कारणले म मा एकप्रकारको आर्थिक संकट पैदा भयो । मलाई यसै घटनाले पनि यस प्रकारको सामन्ति पारिवारीक संरचनाको विरुद्धमा उर्जा प्रदान गर्ने तरङ्ग नै ल्यायो जो आजसम्म पनि छ । त्यस समय खासै उल्लेख गर्न लायक दिनहरु छैन तर पनि एउटा घटना जो मेरो सुनियोजित नितयको वा बुझाईको महासमरबाट पैदा भएको उत्कण्ठा थिएन । जो अस्वाभाविक र अञ्जान रुपमै मानविय सम्बन्धको एउटा स्वभाविक घटनाक्रम थियो । तर त्यो मेरो लागि फलामको च्युरा चपाउनु बराबर थियो । हुनत जुन घटनाहरु नदेखेर, नसुनेर, बरालिएर वा स्वत घट्छन् त्यसमा मानिसको मनोगत नियतको कुनै अवशेषहरु पोखिएर घट्छन् जस्तो लाग्छ किनकी आज म जुन विश्वासमा दृढ छु जसको प्रतिवद्धता एस. एल. सी. पढ्दाको त्यो घटनाले समर्थन गरिरहेछ । त्यस समय म जब ट्युसन पढ्दै आईरहेको थिएँ —त्यसैबखत मेरो दुई साथिहरु रामबहादुर र नारायणबहादुर मिजार पनि मैले सँगै भेटेकोले मैले उनिहरुलाई पनि म सँगै कोठामा ल्याएँ जुन अवस्थामा मेरो दिमागको कुनै पनि कुनामा म बाहुन र उनिहरु सार्की हुन भन्ने कुराको कुुनैपनि महशुष भएको थिएन । उ साथिले मलाई खुब गालि गा¥यो । उसले भात पनि खाएन । म र मेरो भाइले मजाले खायौं । मैले उसलाई, कृष्णप्रसाद दुलाल केही पनि भनिन किनकी मलार्ई थाहा थियो यो उसको बाहुनवाद बोलेको थियो, धर्म बोलेको थियो, सामन्ती संस्कार बोलेको थियो —मलाई यसमा त्यति अस्वभाविक पनि लागेन । उ मसँग धेरै समय बोलेन । यसै समय देखि नै ममा यस समाजमा व्याप्त विकृतीका विरुद्ध क्रुर बन्ने विष उम्रिसकेको थियो । कमसेकम म मात्र भने पनि यो निरन्तरताको विरुद्ध लाग्न सकेपनि म मेरो बसाइ थोरै सार्थक हुने ठानेको छु । 

एस. एल. सी. पछि म मेरो श्रदेय भिनाजु गोविन्द डोटेलका साथमा त्यो मान्ठाको देशबाट काठमाण्डौ राजधानी पहिलो पटक आएँ । म भान्जा भान्जीलाई हेर्ने र यतै पढ्ने भनेर यहाँ आउँन मेरा लागि भिनाजुले जुन अभिभावकिय जिम्मेवारी लिनुभयो म उहाँको सधै ऋणी छँु । विगतका धमिला सपनाहरु चटक्क छाडेर एउटा ठूलो संसारमा कयैन् सपनाहरु, आशाहरु बोकेर आएपछिका केही समय रमाईलो नै थियो । नौलो ठाउँ, परिवेष नौलो बसाइका ती पलहरु तर आर्थिक अभावले ती परिवेषलाई पूर्णरुपमा आफ्नो क्यामरामा कैद गर्न सकेन होला तर पनि म सन्तुष्ट थिएँ किनकी मेरा सपनाका क्षितिजहरु संकुचित थिय होलान् । हुनत म काठमाण्डौको उपलब्धीको गगनचुम्बी भवनहरु सडकबाट अपलक हेरिरहन्थेँ मलाई लाग्थ्यो मेरो देश पनि विकास र उन्नतीले शिखर चुम्दैछ जस्तो लाग्थ्यो जो म मत्र्यलोकबाट देख्दैनथेँ । म +२ मनमोहन कलेजमा पढेँ । मलाई त्यस समयमा राम्रो नै पढ्थ्येँ । म आन्तरिक रुपमा राम्रो गर्थेँ तर समग्रमा भने त्यति राम्रो थिएन । म +२ पढ्दा त्यति राम्रो गर्न सकिन । पहिलो श्रेणिमा पास भएको मान्छे यसमा भने दोस्रो श्रेणिमा पास भएँ । यो समयमा विदा भएको समयमा घर गएर खतिपाती गर्ने कारणले मेरो दाजुको अभिभावकिय सहयोगले मेरा लागि आर्थिक अभाव भने भएन जसले गर्दा मैले भिनाजुलाई आर्थिक रुपमा बोझ दिनु परेन । तर घरबाट समयमा पैसा नआउँदा म कतिपटक निकै अफ्ठ्यरोमा परेको थिएँ तर म साथीसँग त्यती नजिक हुन्नथेँ किनकी यसले ऋण बोकाउँछ भन्ने मलाई थाहा थियो । यस्तो अवस्थामा मेरो कलिलो मष्तिकमा धनी नहुनुको पिडा भने बेला बेलामा घोचिरहन्छ । तर म निजी कलेज पढ्दा पनि टाइ लगाउँथेन् किनकी मलाई टाइ सम्भ्रान्तको पोसाक लाग्थ्यो । म झोलामा हालेर कलेजको गेटमा पुगेर घाँटीमा बनाउन लागेको जस्तो गर्थेँ र फेरी भित्र छिरेपछि फेरी ब्यागमा राख्थेँ । 

जब म बिबिएस पढ्दा मैले काठमाण्डौलाई नजिकबाट नियान्दै गएँ । मैले काठमाण्डौमा म भन्दा पनि दरिद्र मान्छेहरु भएको पाएँ त्यसपछि मलाई पनि यसले दुखाउन थाल्यो । एउटा खुट्टा नभएको मान्छे रत्नपार्कमा मागेर ज्यान पाल्नु पर्ने हुन, वा सडकमा फोहरको थुप्रामा किटाँणू झै लडिबुडी गरिरहेका बालबालीकाहरु हुन वा दुई गास जोड्नका निम्ती १८ घण्टा श्रम गर्ने भरिया, मजदुरहरु हुन वा यौन व्यवसायलाई कर्म बनाएका महिलाहरु हुन मेरा निम्ती सधैँ तनावका लागि जुटिरहने दृश्यहरु थिए । यी भेदहरुको खाडल पुर्न असलि सारमा नवमानवहरुको निर्माणको विकल्प देख्दा मेरो कलिलो दिमागमा म पढ्नै छोडेर हिडौँ जस्तो पनि लाग्थ्यो । त्यस मानसिक तनावको कारण पनि म ती इतिहास वा प्रयोगको खोजिमा भौँतारिएँ जसले यस दरिद्र अवस्थाबाट मान्छेलाई एउटा शुन्दर भविष्य तर्फ डो¥याओस् । र म कम्युनिष्ट विचारबाट अलि प्रभावित भएँ । जसले मलाई यो भोगिरहेको संसारभन्दा पनि पर एउटा शुन्दर संसार पनि हुन्छ भन्ने कुराको चेतना दियो । मलाई मेरो समाजमा व्याप्त जातिय विभेद, धनी गरिब बिचको खाडल, पैसाकै लागि मरिमेट्ने प्रवृती जसले आफ्नै आमाबाबु पनि पैसाकै लागि भागबण्डा गथ्र्यो, श्रमशोषण तथा अन्य दमनका घटनाहरु मेरो वरिपरि नाचिरहन्थ्यो । जसले मलाई तिब्र तनाव र मानसिक उतारचढावको स्तर बृद्धिमा सहयोग गरिरहेथ्यो । त्यस समयमा मैले स्वेड मार्डेन, यागी विकासानन्द, म्याक्सीम गोर्की, लियो टाल्सटायो, एन्टोन चेखोभ, अल्बर्ट आइस्टाइन, सिग्मण्ड फ्रायड, पाउलो फ्रेरे, रेजिस देब्र, हिक्मत रान, चे ग्वेभारा, फिडेल क्यास्ट्रो, लेनिन, माओ, माक्र्स, एङ्गेल्स, हो चि मिन्ह, किम इल सुङ, चारु मजुमदार, जोन रिड, दास स्पार्टाकस जस्ता व्यक्तिहरुको जीवनी, विचारहरु, लेखरचनाहरु अध्ययन गरेँ । जसमध्ये मलाई म्याक्सीम गोर्कीको जीवनी र साहित्यहरु, माक्र्स–एङ्गेल्सका जीवनी र रचनाहरु, तथा अझ मुख्य गरेर आजसम्मकै पूर्ण मानव चे ग्वेभाराको जीवनी, संघर्ष तथा रचनाहरु मेरा लागि नविन उर्जा थियो । जसले मलाई एक उच्च मानव बन्ने कुरामा दृढता र साहसको जन्म गरायो, जसले मलाई माटोको सिमाङ्कनमा बाँधिएर मान्छेलाइ विभेद गर्ने राष्ट्रवादको विरुद्धामा समेत उभ्यायो । मलाई यो दुर्दुर जीवनको यथार्थबोध गराउनको लागि म्यक्सीम गोर्की, चे, माक्र्स र लेनिनका जिवनी र रचनाहरु नै हो । 

यसै समयमा घरमा साहिली भाउजु पनि आउनु भयो । सात वर्षको उमेरमा ललाइ फकाइ पाप पखाल्ने नाममा हाम्रो सामाजले उनिहरु माथि पाप बोकाएको थियो । भाउजु माइतै बसेर पढ्दै गरेकी भएकाले घरपरिवारको परम्परागत श्रमको बोझ बोक्नलाई निकै असहज भएको थियो होला । उनले बिस्तारै बानी पनि लगाईन जुन मैले अझसम्म सकेको छैन । उनले यो सामजको पापलाई पनि सहजै स्वीकार गरिन किनकी उनको ७ वर्षको उमेरमा विवाहा भएपनि उनि १७ वर्ष पछि पनि खुरुखुरु त्यहि घर भित्रिइन त्यो उनको संस्कारप्रतिको वफादारिता थियो वा समर्पण म बुझ्न सक्दिन । म बालविवाहा, जातिय विभेदका विरुद्धमा थिएँ । तर म यसलाई दृढरुपमा अरुका सामू राख्न सक्दैनथेँ । त्यसैले दाजुभाउजुहरु, आमाको दवाबमा र बहिनीको असहमतीका कारण र मेरो मौन स्वीकृतीको कारण बाहिनीको विवाहा १६ वर्षको उमेरमै भयो यो मेरो जीवनको सबैभन्दा ठूलो गल्ति थियो जुन म जीवनभर मेटाउन सक्दिन । मलाई माफ गरिदेउ है बहिनी...........।।।।।।। र केही समयपछि छुट्टिएर बसेको दाईले पनि आफ्नो १३ वर्षिय छोरीको समेत विहे गरिदिए जसको मलाइ औपचारीक निमन्त्रणा पनि थिएन र म यसबाट झन विक्षिप्त भएँ । मलाई लाग्छ यो यहि बाहुनवादी संस्कार, सोचाई र पैसाप्रतिको अस्वभाविक मनोगत आवरणको उपज हो र मैले पनि यस्तै घटनाहरुको कारण आफुलाई विशुद्ध मानवको रुपमा उभ्याउन धर्म, कर्म, संस्कृती र जातपातको विरुद्ध खुलेआम प्रतिवाद र व्यवहार गर्न थालेँ । म चिन्ता, तनावको भुमरीमा नाचिरहेँ । म चाहेर पनि यसबाट मुक्त हुन सक्दिन । म आँखा चिम्लन सकुलाँ, कान थुन्न सकुलाँ तर मेरो मन मेरो नियन्त्रणमा राख्न सक्दिन । मैले जुन घटनाहरु, भोगाईहरु, नियतीहरु, तथा शोषणहरु प्रत्येक्ष भोगेँ, देखेँ, सुनेँ, पढेँ जुन म चाहेर पनि मेरो मानस्पटलबाट मेटाउन सक्दै सक्दैनथेँ । र म सधैँ झै ति घटनाहरुको कारणबाट अस्वभाविक र विग्रहित हुन्थेँ । मेरो स्मृतीमा नाचिरहने मान्छेहरुको प्रतिबिम्बले मेरा लागि सधैँ उक्साउँछ, चिमोट्छ, कोपर्छ, र आक्रन्दित बनाइरहन्छ । म विद्यमान पारिवारीक संरचनाबाट पनि निकै रुष्ट थिएँ । म श्रमसम्बन्धको आधारमा मात्र मान्छबीचको सम्बन्धको व्याख्या गर्नुपर्छ भन्थेँ । म यस समयमा श्रमलाई अति नै सम्मान र उच्च आस्था राख्थेँ । 

म मा विकसित हुदै गएको राजनैतिक चेतनाले पनि मलाई प्रौढता प्रदान गरिरहेको थियो । त्यसै समय देशमा राजतन्त्रको विरुद्ध भइरहेको जनआन्दोलनमा पनि म गोगंबुमा सक्रिय सहभागि पनि भएँ । जहाँ बसेर जनताले पालेका जल्लादहरुको कसाइकरणको तिब्र आक्रोस र विद्रोहचेतलाई पनि मैले कमाएँ । सामन्ती, पुजीँवादी, शोषक तथा राष्ट्रिय दलालका प्रतिनिधिका रुपमा काम गरिरहेका नेपालका राजनैतिक दलहरुको आव्हानमा भएको त्यो आन्दोलनमा गरिब जनताले आफुलाई निस्फिक्रि बलिबेदीमा चढाएर ती दलालहरुलाई रजाईं गर्ने मैदान जुटाई दिएँ जसको म पनि एउटा बोका थिएँ जसले उनिहरुले बाधेँको धमिरे मौलोलाई पनि मैले उखेल्ने साहस गर्न सकिनँ । मैले एकदिन कफ्र्यु तोड्ने कार्यक्रममा भोगेको घटना भने म कहिल्यै पनि भुल्न सक्दिन । गोगंबु हुदै सामाखुसीबाट ठमेल हुदै रत्नपार्क जादाँ भित्रको साँधुरोबाटोमा अगाडि बढ्दै जाँदा ३÷४ पटिको जुलुस मिसिएपछि साघँरोबाटोमा पारेर ती मैले पालेका जल्लादहरुको गोलि, ग्याँसको सामना गर्नुप¥यो । पानी हल्का परिरहेको र म चस्मा लगाउनुपर्ने भएकाले त्यो रुझाइमा म धमिलो मात्र देख्थेँ । तर म साइडबाट अगाडि बढिरहेको हुनाले अलि बल गरेर अलि अगाडि बढेर एउटा बुढो घरमा अरु २०÷३० जना मानिसहरुसँगै भित्र बेहोसी शरिरलाई घिसारेर छिराउन सक्नुले म आज जनआन्दोलनको सहिद, घाइते वा कुनै अरु हुन सकिन । म त्यो घर, त्यो घरको बुढोको अत्यासपूर्ण सहयोगप्रती म सधै मेरो आजसम्मको स्नेहले सम्मान गरिरहन्छु । त्यसपछि इतिहासको अति ठूलो जनसागर जो चक्रपथ घुम्ने कार्यक्रममा पनि म विहान ८ बजेदेखि बेलुका ८ बजेसम्मको भोकप्यास बेगर ३० किलोको यात्रा मेरो लागि बेग्लै अनुभूती थियो । 

विविएस पढ्दै गर्दा पनि म त्यति असफल नभएपनि असफल नै भने पनि भईन । चिन्तै चिन्ताको बिचमा पनि म पढ्दै गएँ । म दोस्रो वर्षको अत्तिम परिक्षाको समयमा भने मैले मेरो मानसिक तनावको ज्वारभाटाको उत्कर्ष, काठमाण्डौ बसाईको उकुसमुकुस उत्कण्ठाले मैले आजसम्म आफ्नै सन्तानसरह हुर्काउदै, साथिको जस्तै व्यवहार गर्ने भिनाजु जस्ता मेरा अभिभावकलाई पनि ढाँटेर काठमाण्डौ छोडेँ । यो मेरो नियतगत विग्रहको पराकाष्ठ नै थियो । त्यो मेरो मानसिक अपरिपक्कताको एक गम्भिर भुल थियो । म पोखरा पुगेपछि पनि त्यहि अवस्था र नियतीको शिकारमा तड्पिरहेको मान्छेहरुको दृश्यले मलाई झन असैह्य बनायो । म त स्वतन्त्र त थिएँ तर म स्वतन्त्र हुनुको मतलब म विजय हुनु हुदैहोइन । तर म भने एक्लै बाच्न सक्ने नभन्ने थिएन तर पनि म झन विह्वल भएँ, आत्माग्लानीको शिकार भएँ । मैले दिदी काठमाण्डौ आएको बखत दिदीलाई पनि नभनी र घरपरिवारलाई पनि नभनी भागेकोले म उनिहरुमा पर्ने प्रभावको बारेमा पनि सोच्न थालेँ । आखिर म दिदीभिनाजुको कारणले काठमाण्डौ छोडेको होइन । गाउँमै स्कुलमा पढाउने दिदी विदामा आएको मौकामा काठमाण्डौ छोड्नु जसले उनिहरुमा नैतिक प्रश्न उठाउने खतराको सम्भावना देखेँ । जसले मलाई एउटा घर परिवार वा आफै गर्नुपर्ने जीम्मेवारीको बोझ बोकेर जुन छत्रछाँया दियो त्यसको विरुद्धमा गएर म मानसिक रुपमा मुक्त हुनुको कुनै जित थिएन । हो म मा विद्रोेहचेत छ , यसप्रकारको सामाजिक संरचना माथि दुश्मनी छ भन्दैमा म लुकेर भागेर स्वतन्त्र हुनुमा कुन प्राणिको हित हुन्छर —म मा आत्मग्लानी भयो । म सँग १० दिन जतिलाई पुग्ने पैसा पनि थियो तर म मेरो दिदीले प्रत्येक ढकढकाइमा आँखाको नानीहरु, मनमष्तिकका, मनमष्तिकका तरङ्गहर्रु भाइ आयो’ भनेर पर्खिरको भान भयो र चुपचाप दिदीसँग आत्मिक माफी माग्दै काठमाण्डौ आएँ । यो पनि मेरो जीवनको अर्को ठूलो गल्ति थियो —जसले मलाई पछुताइ रहन्छ । र मैले जाँच दिएँ सबैमा भने पास भईन । र पछि पनि म यस्तै चिन्ताको शिकार बनिरहेँ तर अलि संयमित बन्न भने सिकेँ । हुनत प्राय मानिसहरुमा आफ्ना लागि विशाल महत्वकांक्षाहरु राख्छ तर म सँग त्यो थिएन जो मेरो असफलताको कारण थियोे । म मा आफु चुलिनुपर्छ भन्ने कुनै पनि प्रकारको झङ्कार थिएन र त म आम मानिस झै बन्न सकिन । 

स्नातकको सबै परिक्षा सकेर म लामो समय घरमा गएँ । यो नै मेरो एसएलसी पछिको लामो निकटता थियो । यस समयमा भने भान्जा भान्जीलाई भिनाजुको दिदीको कोठा पनि सँगै भएकाले सहयोग गर्नुभयो । भिनाजु र दिदी आफ्नै घर बेल्कोटमा बस्नुहुन्थ्यो । मलाई बेला बेलामा भान्जा भान्जीलाई एक्लै छोडेकोमा नराम्रो लाग्थ्यो तर पनि मलाई मेरो स्वार्थी परिवारले जा भनेन र म यतै बसेँ । मैले धान फलाएँ, आलु फलाएँ, मकै फलाएँ एक जुग विते जस्तो लाग्छ त्यो बसाइ । घर परिवारको निकटताले हामीमा आत्मियत थपेन केबल दुरी मात्र । म झन परिवारका क्रियाकलापहरुबाट आहत भएँ । यस समयमा आलु लगाउने समयमा कुखुराको मल लिन म बेल्कोट भिनाजुको घर गएको बेलामा बाटोबाट फर्किदा बाटोका धारा हुदा हुदै मैले सुर्खेती सार्कीको घरमा पानी खाएको अवस्थाको चित्र म जिन्दगीभर भुल्न सक्दिन । मैले त्यसबखत त्यहाँ बुढीआमासँग पानी मागेर खाएँ । उहाँले दिन मान्नु भएन उहाँले हामीहरु अछुत हुनुमा नियती वा स्वभाविक निरन्तरता भएका तर्कहरु सार्दा र मेरो दवाबमा जग ३÷४ पटक सफा गरेर पानी दिदाका क्षण ति बालबालिकाहरुको मौन र निर्दोष हेराइ मेरा लागि बिचित्र र स्वर्गीय आनन्दको क्षण थियो । जसका कारण म घर परिवारको र समाजको लागि समेत अलि ससंकित बनेँ । केहि बुढापाकाले त मलाई अब आइन्दा यस्तो हर्कत भएमा गाउँ निकाला गरिदिने चेतावनी दिएपनि तर म यि कुराहरुबाट कति पनि निराश भइन म त झन सफल भएको भान भयो किनकी मलाई ती व्यक्तिहरुले आलोचना गरे जसले म उनिहरु भन्दा फरक भएको कुराको समर्थन गथ्र्यो । यहाँ शहरमा बसेर ती कामहरु गर्दा खासै केही नहोला तर त्यो आगोको भुङ्ग्रोमा हातहालेर नाच्नु भने फलामको च्युरा चपाउनु बराबर थियो जो मेरा लागि मेरो मानविय नियतले सुम्पेको जिम्मेवारी थियो । त्यस पछि म लामो बसाइ पछि काठमाण्डौ राजधानी आएँ मान्ठाको देशबाट । अब चिन्ता तनावबाट अलि बचेर क्षणिकका लागि म स्नातकोत्तर गर्न भनेर आएँ । तर पनि म मा परिवारसँग बस्दाका क्षणको भोगाइहरुले आर्थिक रुपमा आफै सक्षम बन्नुपर्ने आवश्यकता थपियो । र १०÷१५ ठाउँमा प्रयास पनि गरेँ तर म मा अनुत्पादक वेतनभोगी जागिर बन्ने धै¥यतालाई तोड्न सक्ने किसिमको कामहरु पाउँन । कतै टाइ लगाउनु पर्ने, कतै व्यक्तिगत सुरक्षणको व्यवस्था गर्नुपर्ने र कतै अमिल्दो जीम्मेवारी मेरा लागि असहज भयो र म काम गर्न आजसम्म सकेको छैन । मलाई ३÷४ हजार कामको लागि लाखौको अविश्वास मनपरेन । घर परिवारबाट आर्थिक रुपमा मुत्तहुने कामलागि पनि म असक्षम भएँ यो मेरो लागि अझ अर्को चिन्ताकोे विषय बन्यो । घर परिवारको विवाहाको लागि हुने दवाब र निरन्तरतालाई तोड्न चाहने मेरा व्यवहारले पनि मलाई चिन्तामा फसायो तर यो त्यति उच्च तहको छैन । म यसलाई प्राकृतीक पनि मान्छु । म अरुको मेहनतले सृजना गरेको धन दौलतको कुनै दाबी गर्ने छैन । मलाई पैत्रिकरुपमा प्राप्त सम्पतीको पनि कुनै चाहा छैन तर पनि मलाई मेरो परिवार र यो नेपाली समाजको नियती बाध्य बनाउने दुश्कर्ममा व्यग्र लाग्छ । म विशेषत जातिय विभेद र पैसाप्रतिको बफादारीताको यो समाजमा व्याप्त दमको दबाइ खोज्न भौतारिरहेको छु म मा त्यति धेरै धै¥यताको अवशेष पनि छैन । कमसेकम पढेलेखेका भनिएका तथाकथित ग्रामिण बुद्धिजीविहरुले अन्तर जातिय सम्बन्धहरु बनाउन भन्ने चाहन्छु र म पनि त्यसबाट नभागुँ भन्ठान्छु । हुनत सहरबजारमा बसेर नानाथरीका कुराहरु गरेर यी कुराहरुलाई प्रयोग गर्न त त्यति सहज नमान्ने यहाँ अरिङ्गालको थुप्रोमा लात हान्नु सहज छैन । तर मेरा लागि नै यी हिड्ने आधारहरु हुन । 

धन्यवाद !!!!!!! 

चिन्ताः
१. व्यापारिका छोराहरु—व्यापारी, नेताका छोराहरु—नेता, गायकका छोराहरु—गायक, शिक्षकका छोराहरु—शिक्षक, भरियाका छोराहरु—भरिया नै बन्ने हुन भने म पनि हलिको छोरो हलि बन्नेमा निश्चिन्त छु तर पनि गर्व लाग्छ एउटा श्रमजिवि बन्न पाएकोका जसले आफ्नै सृजनाले आफ्नो भोक प्यास मेट्न सक्छ । तर पनि ती बस्तिहरु जो भोक, प्यास, अभाव शोक तथा उत्पीडनमा टुलुटुलु आकाश हेरी बसिरहेका छन्, म जुन बनेर उदाउन नसकुँला की भन्नेमा सधै विह्वल हुन्छु ।
२. हुनत म विरताको कपोकल्पना शिरानीमा राखेर काँतर परिस्थितिको गुलाम बनिरहेछु । यस्तो अवस्थमा म आफुलाई एउटा मानवको परिभाषामा कैद गर्न सक्दिन र त म अनियन्त्रित छु तर पनि म भित्रको कुनै कुनेटोमा एउटा झिल्को बलिरहेको देख्छु जसले मलाई अँध्यारो बाटोमा हिड्नका लागि सहयोग गरोस् जसले मेरा लागि कुनै गलत मार्गमा पतित नरपशु बन्ने आव्हानलाई दुत्कार्न सघाउँछ , त्यहि नै मेरा लागि मान्छे बन्न सक्छु की भन्ने विश्वारको त्यान्द्रो हो ।

0 comments: