२०६५साल
मान्छे मान्छे नै हो
मान्छे मान्छे बेचेर मान्छे कमाउँदैन
उसले देख्न सक्छ ।
भैँसीले आफ्नै सन्तान कुल्चन्छ
ढाडेले आफ्नै बच्चाहरु खान्छ
बोकोले आफ्नै आमाको सतित्व लुट्छ
किनकी ती अन्धा छन् ।
तर मान्छे ज्वतीमय छ
सारा धर्तीको अन्धकार चिर्न सक्छ
उसलाई आफु भरिएर सन्तुष्ट छैन
किनकी उसलाई सोमालिया, सुडान, इथियोपिया
दुख्छ
अफगानिस्तान, केन्या, र इराकले घोच्छ
विहार, यु पी र दिल्लीका सडकले पोल्छ
मधेस, तराई, पहाड र हिमालका झुपडीले जिस्काउँछ
रत्नपार्क र अन्य शहरी भावभङ्गीले थिच्छ
पहाड र हिमालको दुर्गम दरारले छेक्छ
तराईको खहरे भेलको उछृङ्खलताले बगाउँछ
र पो उ मान्छे छ ।
मृत्युबोधमा मान्छे जीवन हिडाउँछ
अनि डरपखेरुले जीवन लुकाउँछ
जीवनभर दास बन्छ— नियतरुपी तिरस्कारको
उद्दारको भिख माग्छ — मृत्युसँग लुकिलुकी
कोठामा थुनिएर विश्व ब्रमाण्ड चाहर्न
खोज्छ
र अवाक् पशुझैँ आफ्नै दाम्लो चाट्छ ।
खोला आफै धाउँदैन तिम्रो प्यासमा
अन्न आफै झुल्दैन तिम्रो भोकमा
सुर्य आफै तिमीसँग डुल्दैन तिम्रो शिशिरमा
त्यसैले तिमी धाउनुपर्छ÷दौडनुपर्छ
गोरेटो साँधुरो, फराकिलो वा असहज हुनसक्छ
कतै मृत्युका धरापहरु हुनसक्छन्
त्यो नै हो चुनौती अनि जीवन ।
जिन्दगी टुक्राएर हावामा उडाएर के पाउँछौ
वा बटुलेर, थुप्राएर पनि के पाउँछौ
नाङ्गो हुनु र भरिनुसँग जीवनको कुनै सरोकार
छैन
यी त सब जन्मपछिका कोरा र बेतुकका स्वागत
मात्र हुन
आफैलाई खुइलाएर कुरुप बनाएर भागेपछि
पालुवा र कोकिलको रसिलो बैंस बोकेर बसन्त
आउँछ
हामी पनि उर्वर छौँ, लहलहाउन सक्छौँ
सियोले धर्ती प्वाल पारेर केही पनि हुदैन
एक्लै उफ्रेर ज्वालामूखी फाट्दैन
एक्लै थुकेर समुन्द्र बन्दैन
तर तिमी निम्छरो पनि छैनौ
तिम्रो मानविय अतल अगम्य छ
तिमी छद्मभेषी पृथ्वीको एकै विवेकी
त्यसैले तिमी रह बनेर जम्न सक्दैनौ
तिमी कोर्न सक्छौ आफ्नै चित्र
तिमी आफ्नै अभियन्ता
तिमी आफुजस्तैका नमूना
तिमी निगुढ छौ
तिमी आफैलाई खोज !
जीवन पराधिनतामा पछुताउँछ
अनि सुख, छेम र बैभवत्वको जिताईमा पनि
रमाउँनु त एक आवेस मात्र हो
हिमालको हिउँले पहाड चिस्याउँछ
पहाडको पसिनाले सतहको मैदान अग्लाउँछ
कसिकसाई र दकसमा एउटा कोरा विद्वान डराउँछनै
मरेपछिको दायद जोड्दै, हाम्रो समाज फाट्छ
।
आखिर माटो, बन्धन र दौलतको दिक्कत
हिरोसिमा र नाकासाकीमा पोखिन्छ
र अन्ततः व्यर्थ पराक्रम भाँचिन्छ
अनि त्यहि खण्डहर दुन्दुभि भित्र
अभिसप्त प्रतिशोधमा चेपिएर
त्यहि दुर्दम दर्पभङ्गमा माटो खान्छ
र यात्रा चिरकालको गर्भमा पुरिन्छ ।
तर मान्छे त्यति सजिलो छैन
यो आफैमा अचाँडु र अखानो पनि छैन्
उ आँखा चिम्लेर बाटो छोट्याउँदैन
कान थुनेर समुन्द्रको शालिनता पढ्दैन
र यो चाह्यो भने यो पनि गर्न सक्ला
तर उसको दुर गर्भको मन छोप्न सक्दैन
उ नचाहेर मनसँग दौडन्छ
र ऊ उसको अक्षशालामा भएको द्वन्द्वमा
कोर्रा दौडको बाध्यता खेप्छ –खेप्छ ।
उ निशब्द र सुन्य बन्न सक्दैन
किनकी उसका आँखाले नचाहेर हेर्छ
अनि उसका कानले नचाहेर सुन्छ
हुनत यो पनि दुर्दम नहोला
तर त्यो दुर्दम मन कदापि छोपिन्न
यहि हो अध्यात्म र जीवनको भेद ।
कालजयी कर्म र आत्मा हुन्छ
भौतिक शरिर त जल्छ — गल्छ
नचाहेर एकदिन हिड्न छोड्नुछ
यो त मखमली कपडा र आरन न हो ।
उसको मुल्यमा धर्ती सिँगारिन्छ
तर उहि मुल्यहिन बन्छ,
मुल्यहिन पराक्रममा पनि उ शिर ठाडो पारेर
हिडिरहन्छ
किनकी त्यो नै वास्तविक गन्तव्य हो
जसमा एउटा जीवनको अवशेष छ
आशा र अपेक्षाको झिल्को छ ।
मान्छे वीर हो ध्वंस होइन
मान्छे धीर हो पहाड होईन
मान्छे काकाकुल हो चुत्के होइन
मान्छे विवेकी हो बेहोसी होइन
पृथ्वीको गर्भ खोजेर पृथ्वीको उचाई बढ्दैन
मान्छेको पुर्खा खोजेर पनि अग्लदैन
समयको गतिसँगै मान्छेको प्यास भेट्नु
नै
जसरी खडेरीमा पानी बर्षनु ।
हुन त एक्काइसौ शताब्दीको नेपाल खोज्न
इतिहासको संगा्रहालयमा दौडनु व्यथृ छ,
रत्नपार्कमा एकघण्टा उभिए पुग्छ
सिराहाको दलितबस्तिमा दुर्दुराए पुग्छ
मुगुको भित्तामा नुनिलो माटो बने पुग्छ
।
जसलाई अरुले परिभाषित गर्छ
ऊ उसकै नाम बोक्छ
यहि नियती छ, बेनामे पदार्थको
अर्काको भारी बोक्नु र उहिबाट छुट्टिनु
।
मैले अक्षर, मृत्युको मुल्य खोज्न जोडिरहेछु
एउटा मृत्यु जसले इतिहास बोक्छ
जहाँ असैह्य मृत्यु जीवन बनेर मर्छ
जसले पसिना बगाउने सिञ्चाई नहर खनोस्
जसले प्यास मेट्ने इनार खनोस्
जसले गास जोड्ने भकारी भरोस्
जसले हाँसो बग्ने किनारा देओस्
जसले मानव श्रेष्ठताको अँचेला बनाओस्
जो दिग्गज मानवको चिनो बनोस्
जो भिन्न होस्, पृथक होस्
यहाँ यहि एउटा उच्च जीवनको खडेरी छ
एउटा उच्च मृत्युको खडेरी छ
जो तिम्रो हृदयमा गड्गडाएर
तेज वर्षितमा आतुर छ
जो मेरो जीवनको दैनीक सपनी छ
तिमी तिम्रो मान्छेलाई सोध —तिम्रो मान्छेलाई
नथुन
किनकी तिमी नै एक, यस धराको
सुकेका आँतको अमृत प्याला हौ
मेरो सपना मेरो एउटा मृत्युको प्यासी
छ ! ! ! ! ! !
0 comments:
Post a Comment