प्रचण्डलाई खुलापत्र ......लेनिन कि रोहित ?



हुनत लामो समयको भूमिगत जीवन र दशवर्षे विद्रोहको राँकोमा खारिएर इस्पात बनेका प्रचण्ड कमरेडलाई माक्र्स कै अगाडि साम्यवादको व्याख्या गर्ने जस्तो मनसायको कुनै दुश्साहस गर्नु त्यो पनि म जस्तो माटोसँग सिगौरी खेलेर अन्न फलाइ पूँजीवादकै गुनगानमा मरिमेट्ने यहि शिक्षाको जगमा हुर्कदो कलिलो मुनालाई पटक्कै सुहाउँदैन होला । तर जुगौ पहिलेको र प्रथम जनक्रान्तिको जो एउटा दाश स्पार्टाकसको चेतनाले रोमन साम्राज्यको जरोकिलो हल्लाएर सुत्रपात ग¥यो, मलाई लाग्दैन त्यसैगरी जो कसैसँग शुशुप्त अवस्थामा यो संसार हल्लाउने वैचारिक दुर्गमता नहोस् । इतिहास आखिर मानव समाज रहेसम्म मेटिदैन किनकी इतिहास त अतितका घाउहरु थुप्रिएर जोडिन्छ । त्यसैले प्रत्येक पाइलाहरु बढ्नु अगाडि कस्ता डोबहरु बन्छन् त्यसलाई पहिले नै सोच्नु जरुरी हुन्छ । पुराना टालेका पाइन्ट, कोट लगाएर हो चि मिन्हले अमेरिकी स्रामाज्यवादलाई आफ्नो पाउमा ढोगाएथे । राष्ट्रपति हुदासम्म उनि फ्रान्सेली गभर्नरको लागि बनेको भिमकाय महलमा नबसेर दरबार अगाडिको दुई तले छाप्रामा बस्थे र पनि उनलाई कति पनि हिनताबोध र असहजता महशुस भएको थिएन । उनलाई फाटेका लुगा फेर्ने सल्लाहा दिंदा ‘सबै साथिहरु यहि लुगाले नै सन्तुष्ट छन् भने म किन फेरुँ ?’ भनि प्रतिप्रश्न गर्थे । आखिर क्रान्ति अटालि युक्त महलमा बसेर निमूखालाई ढाल बनाई सत्ता प्राप्तीको खुड्किलो खन्ने मन्त्रणा मात्र हो र ? चे ग्वेभाराले पनि फाटेको लुगा मै एउटा इतिहास रचे । अजेन्टिनामा जन्मेर क्युबाको मुक्तिसँगै बोलिभियामा प्राण त्याग गरे । उनकी श्रीमतीले क्युबा मुक्ति अभियानमा जाँदा ‘क्युबाको मुक्तिको लागि मैले मेरो पतिलाई बलि चढाँए’ भनेर बिदा दिएकी थिईन । आखिर मानवप्रेमको थैलोमा भोक, प्यास, पारिवारिक मायामोह समेत बन्दगी बस्दोरहेछ । लेनिनलाई डक्टरले बिरामी हुदा खानाको मात्रा बढाउन कडा सिफारिस दिंदा पनि आफूलाई भोकमा छटपटिरहेको एउटा श्रमिक सम्झें । जसका कारण उनलाई तौल वृद्धि गरेर मात्रात्मक सन्तुलनबाट झुक्काएर बचाउनु प¥यो । स्ताईलिनले पनि सोभियत युनियनका खातिर जर्मनमा आफ्नो छोरोको बलि चढाए । उनलाइ पनि परिवारको माया हुदो हो । माक्र्सका छोरा–छोरीहरु बिरामी पर्दा उपचार गर्न नसकेर मरे । सन्तानको लाश ढाक्ने कात्रो र त्यसलाई गाड्ने खर्च जुटाउन सम्म सकेनन् । उनको खर्च जोहो गर्न कोट, जुत्ता समेत बन्धकी राखे । यी नजिरहरु के हुन ? क्रान्ति वैचारिक अफवाह मात्र हो र ? आफैँ भित्रको प्रयोगलाई लत्याएर कल्पनाको अकाशगगां समात्नु मात्र क्रान्ति हो र ? 

तपाईंहरुको सत्तागमन टाई, सुट, कोट, घडी, पलङ्ग, कालो बोको .....! भो एउटा क्रान्तिकारीको नाममा अझै अगाडि नलेखौं । आजैका दिन सम्म इरानका राष्ट्रपती मेहमूद अहमदिनेजाद राज्यकोषको वेतनविहिन र नोकर–चाकर बेगर अमेरिकी स्रामाज्यवादलाई चुनौती दिदैछन् । तर तिमीले त धन, भोग र सुख सुविधाको लोभमा प्रतिस्पर्धा गर्न लगाई श्रमिक माथि चरम शोषण गर्ने मार्ग मात्र खन्यौ । तिमीले तिम्रा अनुकुलको क्रितदाश तथा राज्यकोषका वेतनभोगी अनुत्पादक जागिरेको पसल थाप्यौ र पसिनाको अवमूल्यन ग¥यौ । र भएका एकाध निर्णयहरु पनि सानो हाँगोमा ठोकिएर टुक्रिए । पूँजीवाद र सामन्तवादको विरासतको रुपमा रहेको वेतुक र बेढवका आधारहरु र उपयोगहिन हानिकारक सामाग्रीहरुको माध्यमबाट जनताका नाममा समाजवादको सपना बाँढ्यौ र अँध्यारो गल्लिमा छोपियौ । त्यसैले तिमीले नयाँ भौतिक आधारहरुको निर्माण र नवमानव निर्माणको चे को चिन्तालाई लत्यायौ । चेले भनेजस्तै तिमीले जीवनभर क्रान्ति कर्मको व्याज खाने मानसिकतालाई हुर्कायौ । र मानविय चेतनामा अाँफै यन्त्रवत परिवर्तन खौज्यौ । क्रान्ति त व्यवहार, आचरण द्वारा आँफैभित्रको कठोर प्रयोगद्वारा अभिव्यक्त हुने उच्च कर्म हो । पोलपोटले झै बाहुबल र हतियारबाट जनताको हृदयमा त्रास रोपेर फल्ने वस्तु हुदै होइन । दक्षिणपन्थ र क्रान्तिकारीहरु त व्यवहारद्वारा नै परिभाषित गर्न सकिने हुन्छन् तर ती आधारहरु नेपालको क्रान्तिकारीहरु तथा कम्युनिष्टहरुमा लागू हुने अवस्था छैन । यो नै नेपाली राजनीति माथिको नियती बन्यो । शिक्षाविद् पाउलो फ्रेरेले भनेजस्तै ‘निरन्तर चलिरहने क्रान्ति प्रक्रियामा कोही कर्ता र कोही कर्म बन्नु र बनाइनु हुदैन । यस प्रक्रियामा क्रान्तिकारी नेताहरु चिन्तक हुने तर उत्पीडित जनता भने केवल कार्यकर्ता मात्र बन्ने स्थिति हुनु हुदैन ।’ तर तपाईंका कार्यकर्ताहरु भने तपाईंहरुकै चिन्तन भजाएर श्रमिक जनताका माझ लोकप्रिय बन्नुको साटो मोजमस्ति तथा लुटमारमा व्यस्त छन् । किनकी उनिहरुमा क्रान्तिकारी अहन्ताले घर बनाएको छ । र यसका लागि तपाईं र तपाईंका नेताहरु समेत प्रत्यक्ष जिम्मेवार छन् किनकी तपाईंहरुमा समेत भोग–विलासले जरा गाडेको छ । आजसम्म तिमी र तिम्रा चिन्तकहरु कार्यकर्ताका टहरो तथा झुपडीहरुमा पुगेका छैनन् र ती कार्यकर्ताहरुसँगै बसेर हातमिलाएका छैनन् अनि सँगै बसेर खाना खाने काम गरेका छैनन् किनकी त्यहाँ तपाईंहरुलाई घिनले दुर्दुराउँछ । तपाईंहरुलाई त विदेशी प्रभुहरुसँग भेटघाट गर्नु भन्दा ती गरिब कार्यकर्तासँग हात मिलाएर सँगै बस्नुमा आत्मग्लानी महशुुुस हुन्छ । र माओको ‘जनताहरु वास्तविक नायक हुन जबकी हामी आँफै केटाकेटी र अज्ञानी हौं र यस समझदारी बेगर एकदमै प्राथामिक ज्ञानपनि हाँसिल गर्न असम्भवप्रायः छ’ वाक्क लाग्न थालेको छ । र नाउँको परिवर्तनको गोलचक्करमा रमाएर सारलाई तिलाञ्जली दिन उद्दत हुदै गरेको देखिन्छ । 

तपाईंहरुको अर्को निरन्तरताको रुपमा आएको राष्ट्रिय स्वाधिनताको आन्दोलन पनि सुरक्षित अवतरणको निम्ती घोषणा गरिएको एउटा बाध्यात्मक निरन्तरता मात्र हो । किनकी यस आन्दोलनबाट दाल गल्नेवाला छैन । र यसका लागि यो सरकार बरु विदेशीको गुलामी गर्छ बरु एक सतकको मन्त्रिपरिषद गठन गर्न तयार छ । जुनदिन आफ्नो नेतृत्वमा सरकार बन्यो त्यसै ताका रायमाझी आयोगका दोषीहरुलाई निलम्बन गर्दै कार्वाहिको प्रक्रिया अगाडि नबढाएर आफ्नो अनुकुलको नोकर नबनेकोमा जुन बालपन प्रस्तुत गरियो त्यो पनि त सफल बनेन र कुकुर खुला छाडेर टोकेको खुट्टा बोकेर धाउनुको के अर्थ रह्यो र । अनी भैंसी पूजा गरेर के काम । आखिर पूराना मण्डले, दरबारीया सल्लाहाकारहरुको रेखाचित्र भित्र नेपाली जनताको अपेक्षालाई पोल्यौ र नेपाली जनताको मनमञ्जरीमा टुसाएको मुना समेत लुछ्यौ । अनि आज त्यही गतिशिल सत्ता जसलाई स्थिर गर्न सकेनौ त्यसैको प्राप्तीमा किन मरिमेट्नु ? कि अब अनुभव संगालेकोले योग्य उम्मेदारको रुपमा दावा पेश गर्न दौडिरहेको हो र कमरेड ? 

तपाईंहरुको भारतीय विस्तारवादलाई मात्र सुगा रटाई लगाउने एकाङ्कीवाद जसले ती गरिब, शोषित, श्रमिक करोडौं भारतीय जनताको पक्षमा एक शब्द पनि नबोल्नु विरोध गरेको शैलीमा सत्ता प्राप्तीको लागि चालिएको रणनीतिक पटाक्षेप मात्र त होइन ? एउटा विहारको भोको पेट नेपालको पहाडसम्म फलामका टुक्रा, बोतल–कागज बटुल्न र कपडाको पोको बोकेर नाङ्गो खुट्टा नाच्छ त्यसबेला तपाईहरुलाई नेपाली अहंमकारले चिथोर्छ । आखिर मधेसको झुपडीमा चुहिने छानो भित्र सुनौलो संसार बुन्दै गरेको त्यो भूमीहिन र त्यो विहारीमा के भिन्नता छ ? ‘त्यस्तो कुनै पनि देशमा जुन राष्ट्रको झण्डामूनि उसको जन्म भएको होईन, लड्नु र रगतको प्रत्येक थोपा बगाउनु भनेको जीवित रहेका व्यक्तिहरुका लागि एउटा अनुभव हो, जुन संघर्ष र बलिदान आफ्नो मुक्तिको संघर्षसँग पनि जोडिएका छन् । प्रत्येक राष्ट्रको मुक्ति आफ्नो देशको मुक्तियुद्धको विकास कै एउटा चरण माथिको विजय हो’, (चे ग्वेभारा) । भारतीय विस्तारवाद र पूँजीवाद नेपाल, भुटान, बङ्गलादेशका साथै स्वयं भारतीय श्रमिकहरु–मजदुरहरुको साझ शत्रु हो नै । आफ्नै–आफ्नै देशको सामन्तवाद माथिको विजयका साथै यो साझा शत्रु माथिको विजय पनि आजको आवश्यकता हो । भारतले कुनै पनि छिमेकी माथि आफ्नो दर्पभाङ थोपर्न सक्दैन जबसम्म उसले सुगौली सन्धी अगाडिको नेपालको भूमि फिर्ता गर्ने साहस राख्दैन । अतः उसले आफ्ना छिमेकीहरुको सम्प्रभुत्व माथि ठूला आँखा गर्नु आफ्नो नैतिक नरकमा डुबुल्की मार्नु हो जो उ गर्न सक्दैन । त्यसैले उसले सबैको सार्वभौमिकतालाई मान्नै पर्ने हुन्छ र प्रत्येक छिमेकी आत्मसम्मानका साथ बाँच्न चाहन्छन भन्ने कहिल्यै भुल्नु हुदैन । र राष्ट्रियतालाई मानविय सम्बन्धको आधारमा पुनर्निर्माण गर्नु जरुरी छ । यसैका लागि वर्गिय दृष्ट्रिकोणबाट नेपाली कम्युष्टहरुको एकता र यसको पहलमा एउटा अन्तराष्ट्रिय समेत बनोस् । अन्यथा यी छिमेकीहरु भारतीय संन्त्रासका जालोमा सधै बेरिरहनु पर्ने अवश्यंभावी छ । 

अन्तमा एउटा क्रान्तिकारी व्यवहारको उच्च प्रयोग मार्फत नेपाली जनताको मानस्पटलमा बस्न सफल हुन र चे ग्वेभारा पछि क. प्रचण्ड मेरो भित्तामा झुण्डिन लालायित होस् साथै समाजवादको सपना माथि लागेको वर्तमान विश्वको अस्तव्यस्त कालो बादल हटाउन लेनिन बनेर प्रत्येक श्रमिकवर्गको मुहार रसिलो बनाउने अपेक्षा राख्दछु । अन्यथा रोहित बन्नुपर्छ । समाजवादको स्वैर–कल्पनामा संसदभित्र थुनिनु पर्छ । आँफै प्रयास गरेर नभई अकाशबाट वृष्टि हुनुपर्दछ भन्दै कागजी बाघ बन्नुपर्दछ । परिवर्तन नाउँ र कागजमा होइन कमरेड जनजीविकामा देखिनु पर्छ । कहिले उग्र उत्तेजित र कहिले स्खलित बनेर होईन संयमका साथ समाजिकृत मानवहरु तथा नवमानवहरुको सृजना गरेरमात्र आदर्श राज्य बन्न सक्छ । आँफै भित्रको प्रयोग बेगर र श्रमिक तथा मजदुरहरुको व्यापक सहभागिता बिना क्रान्ति असम्भव हुन्छ । म यी पंक्तिहरु जोडिरहदा ति जो आश्वासनमा होस वा चेतनागत ढङ्गबाट होस्, मृत्युको मोर्चामा निर्भिकताका साथ मर्न सचेत बन्यो ति आत्मा जीवात्माप्रति आजसम्मकै स्नेह र आभार प्रकट नगरिरहन सन्दिन ।

0 comments: