म र बोरा

शरदका ती लामा रातहरू
चिसो सिरेठो र शीतको स्पर्श
अनुभूति र अनुभवहरूको बेहोसीपन
फगत बाध्यता र निरन्तरता
केबल एक जिउँदो मृत्युको
प्रकृतिको धारिलो चुलेसीबाट ।

यी देहका पार्टपुर्जा भाँच्न, शरद मात्र लागेन
गृष्म, हेमन्त, बर्षा र शिशिर मात्र होईन
बसन्त समेत बाँकी रहेन,
जो कसैको बैंस बोकेर आउँछ
तर त्यो मलाई लुछी-लुछी
आफ्नै नियतमा कलङ्कको
विशाल पहाड ठड्याउँदो छ, सायद प्रतिशोध होला ।


यो विकृत प्राकृतिक छाँद,
मात्र मेरो नीरिहता माथिको
एउटा विजयोत्सवमा नाचिरहेथ्यो
तर त्यो शुन्दर काल भने
मेरो चिहान खन्न
निश्चिन्त, निसंकोच, ताजुबले
अभ्यस्त तन्मनस्क छ ।
कसैको बाध्यता व्यापार गर्नेहरू
मेरो दिनचर्या माथि नानाभाँती रङ पोतेर
हजारौ–हजार रमिते बनाई
लाखौ–करोडौंको ऐश बटुल्दै छन् ।

तर, म उहि मरुभूमि माझ
जीवनको मफत भिख माग्दै
पाखुरी र मान्छेको नियतमाथि
ग्रहण बोक्ने दुसाधहरू भन्दा पर
अनवरत, मृत्युविजयी पीयूस खोज्ने
एक विशाल पथमा
चर्को घाम चुस्दै
फगत एक नाजुक पथिक
उहि अपमान र गर्हित पथपरेजमा ।

यो बाहुनवादको कुलिन सभ्यता
अनि यसैको सिस्नो–पानी
मेरो विगत, वर्तमान र अतित बनेको छ
त्यो अति निकृष्ट दुस्कर्म
ती श्रमशील तर उजाडिएको
त्यो झाँगिएको अभिजात सभ्यता
जो बोक्सी बोकाएर, मलमुत्र खुवाएर
आलब्यको भित्ता भित्रबाट हुत्याएर-फ्याँकिएर
आसक्तिको साहारामा, उब्जाउहिन खेती
धिक्कार ! धिक्कार !!
हाय ! ठूली कमिनी,
हो त्यहि हो मेरो कोख
सडकले रोजेर सडकले हुर्काएको
उफ ! अरु मलाई कुनै सम्झना छैन ।

तर, म सोच्थें
उनको पनि रहरहरू थिए होलान
लोरी सुनाउँदै शुनौलो अतित बुन्ने ।
मेरो सहृदयी, सहचरहरू
कोही सौताको छोरा–छोरी भएकोमा त
कोही भोक, अभाव वा शोकले थिचिएर
कोही छोरी परिवारबाटै बेचिएर त
कोही मेरै हैसियतमा
सडकले नै हुर्काएको एक नियती,
अझ अरु कति कति
जो एउटा जीवन-बोरा बोकी
दुर्गन्धमा जीवन खोज्छन्
सडेको-कुहिएको आँतमा
रस खोज्छन किटाणू झै
यो उति उच्च अब्बल नराधामको,
सुशितल छहारीमा ।

चिथरा–झुत्राका जुलुङ्गो झैं
खुला आकाशको चौतारीमा
चोरी, लुट, आतङ्क वा बेइज्जतीको
ताण्डब रच्ने नृपशु जस्तै
तर, संघर्षको प्रतिलोम
नादानीको पहाड चढ्ने छैन ।
भोक–प्यास, अपमान र विवशता बोकी
मानविय नैतिकता तोड्ने छैन ।
प्राकृत धरती माझ
अस्तित्वको साम्राज्य रच्ने
कोर्काली त्यो ऋषभहरूको इमान माथि
थुक्नै लाज लाग्ने काम अब गर्ने छैन ।
मानवै नदेख्ने ती, मानवधर्मी कंकालहरूको
चहलपहल, घम्साघम्सीबाट हामी
आहत वा विक्षिप्त भई
मान्छे अनि मान्छेको दाउ थाप्ने छैन ।
बरु समयचक्रको प्रहारबाट नथाकेको पहाड झैं
अविचलन र धिर बोकी
मेरै साथी बोरासँग, म पोखिएको
इतिहासको पाना खोज्छु ।

धुँवाधार चिच्चाहाट, आदर्शको
औपचारिकता र अस्तित्वको
यी सभ्यताको नग्न रुपमाथि
घोडा चढी यहाँ कोही
अन्तर्दिलको प्यास भेट्ने छैन ।
त्यसैले त यहाँ हामी
उज्यालो संसार खोज्दै
अग्घोर कालो रात माझ
बोरासँगै दौंतर बन्छौ ।

वैभवत्वले सडेपछि मान्छे
पराई बन्दै जान्छ आफैबाट
तर, कालो बादलको भित्र पनि
उज्याले रश्मिको बास भए झैं
भयंङ्कर निराशाको दुन्दुभि भित्र पनि
मान्छे खोज्ने मान्छेका तार बज्नेछन् ।
यो तिलस्मीताको घनचक्कर होईन
किनकी, यो नराधाम दिनानुदिन
आफ्नै चिहान खन्ने तिखुनोहरू जन्माईरहेछ ।
जसले निर्विकल्प,
मेरो अतित र भविष्य जन्माईरहेछ,
मान्छेमा मान्छे नहुनु,
असमानता, असभ्यता र नैतिकहिनहरू ।

हुन त हामी राज्य हैनौं
तथाकथित राज्यका सिमाङ्कन वा सम्प्रभुलाई
गिज्याई-गिज्याई ललकार्नुको आत्मग्लानीमा
राज्य पथका पथिक बनी
यसको इमानमा धुलो घस्न
कुनै सुनामी हामी बन्ने छैनौं ।

तर यो पटाक्षेप हो,
नीति पतनले झाँगिएको यो झाडी
मान्छेमा विकृतपनले जरा गाडेपछि
अझ भनुँ, मान्छेमा मान्छे हराए पछि
औपचारिकताको खोल ओढी
बालुवा घोटेर जीवन खोज्नेहरू
विकृत संस्कृतीमा मोक्ष खोज्नेहरू
यो दुश्निल स्वप्नको दावानलमा
एकदिन पुरोडाष बन्ने नै छन् ।

तर पनि म मेरो जीवन (बोरा) माथि आँखा अोच्छ्याई
उजाड स्थानको एक ध्वनिमा
जीवनको तरङ्गहरू देखिरहेछु
र पनि,
म र मेरो बोरा मानवपटलको भीडबाट
मानव सभ्यताको स्पृहालाई
अवसानहरूको फिलिङ्गोमा
प्रमशनको आयुशेष देखिरहेछु ।

बम खोजिरहेका बुद्ध



क्लिष्ट र दुर्बोध्य छैन जीवन
तर, मानव त्याति सोझो र पानी पनि छैन
राजपाटको छेम र सहज उपस्थितिलाई
लत्याउँदै बुद्ध भौंतारिए
त्यो घनचक्करको तुक खोज्न
चरम धिरता र घनिघसाई
पुगे एक कित्ता माझ
भेटे सत् र अहिंसाको त्यो
भिककाय स्वप्नील दरबार
पाई त्यो नवसाँधको नवराज
उठ्यो त्यो साधु दिमाग
जुन जुनभर खोजिरहेथे ।

मानव अहन्ता यो एक गोरेटो
छैन ललकार यो सच्चाईको
न पुग्न कस्नु छ कुनै
बोधी वृक्ष माझ पद्ममासन
स्वबोध, स्वप्रयोग यस जीवन ज्वतीको
तर कोही अब टुपी उभो रौ खोज्न
बन्नुपर्ने छैन घामड अब यहाँ ।

अधुनातम यो,
विष अंकुर, आवदी मन
बबण्डर हृदयको विपुल प्रताडन
बजिरहेछ यहाँ गन्धि दुन्दुभिहरु
मान्छे चिर्ने मान्छेको यी खञ्जहरहरु
पत्थर फोर्नेका हात काटी
मफत सोखको अतित बुन्दै
खोज्दैछ सेवा–शुश्रुवा यहाँ
मुकहरुको शिर चढी
खुट्टा काट्दै त्यो कालो छाँया ।

मच्चाउँदै छ एकछत्र यहाँ
भोक, प्यास, शोकको राज
बाँढ्दै अध्यास यहाँ
खोजिरहेछ आफ्नै जीवन
शोषण, दमनको बबण्डर बीच
अन्धभोकले चिढिएको त्यो
फैलाउदै हात यहाँ
गगनकम्पित चिच्चाहाट बीच
खोजिरहेछ एक अस्तित्व
त्यो परमुखापेक्षी कालो छाँया ।

सब शासक छैन कोही सेवक
लुट्दै चढ्दै त्यो स्वार्थको पहाड
खोजिरहेछ त्यो सन्तोषको एक चरमोत्कर्ष
अप्राप्य त्यो अभिप्षा खोज्दै
प्रतित्यसमुत्पादलाई नदेखी
मृत्यु चिहान खन्नेहरुको, सघन श्रमबस्ती माझ
खोजिरहेछ एक जीवन
त्यो स्वार्थ उदयको उन्मादमा
त्यो दुसाध कालो छाँया ।

यहाँ, छोडिदो छ न्याय, सत् र सुमार्ग
अनि अहिंसा र विवेकको त्यो विशिष्टता
फैलदो छ त्योे किसोरी बासना
खोज्दै अस्मिता किन्ने मानवहरु
तर के थाहा त्यो छाँयाको
जो आफ्नै मृत्यु पुर्जी काटिरहेछ
जो अझै उन्मुक्त चम्किरहेछ
निभ्ने ज्वतीको झै नीरिहतामा ।

विवशता छ धनको मात्र
मोजमस्ती, विलासिता र लुटको मात्र
अथाहा सामथ्र्यको सौर्य बीच
घनघटाको त्यो अविवेकी दुष्प्रयास
साम्राज्य फैलाउने त्यो दुसाधलाई
यो धरती लाचार भई
पुच्छर हल्लाई शिरनमन गर्ने
अर्को गल्ति गर्ने छैन अब यहाँ ।
बलात्कृत भई उजाडिएका
अचला भरिको अवयवहरुको
स्वप्न सञ्चित सपनाहरु
विपना बनाउने कारखानामा
तन्मय छ, जुट्दै छ अब यहाँ
बुद्ध खोज्ने चक्रव्यह्मा ।

मान्छेहरु यहाँ,
प्राकृत गोल अचलाको चिराफारा र प्रभुत्व जमाउँन
मान्छेबाट भाग्दै छिप्दो छ ।
अब ती मान्छेहरुको कुकृत्र्य र गुह्यचटकहरुलाई
निर्मल, हरियाली र स्निग्धको दिदृक्षामा
बुद्ध हृदयहरुका कचहरीहरु माझ
शसक्त दलिल पोख्न खोेजिरहेछ ।
अचला भरिका बुद्ध हृदयीहरु
फगत आदर्शका बेमौसमी बाजा भन्दा
धरातलको उकाली–ओरालीको वास्तविकतामा
आज एक निमेषको लागि
पाप बोक्ने बर्कत उमार्दै छन्
जो धरतीकोे चित्कार बनिरहेछ ।

त्यो दारुण दर्दताको भिमकाय भवन
विहार, युपी हुन वा सर्वाङ्ग भारत हुन
सोमालिया हुन, भुटान वा सुडान हुन
अमेरिका होस वा इराक, अफगानिस्तान हुन
इथियोपिया हुन वा मेरै छातीहरु
भग्नावशेष खण्डहरहरु बनाउन
ती जीउँदा चिहानहरु
अब निर्भिक उध्रिनेछन्
जसलाई कुनै पनि दैवत्वले पनि
खुट्टा भाँच्न सक्ने छैन ।
भोका, नाङ्गा, अभाव, शुन्यता हुन
वा त्यो उजाड वा चरम उचाईका दिग्दारीहरु हुन
जो साम्राज्य फैलाउँदो छ ,
वसन्ती उभारका आरुका फुल झैं
जसलाई उडाउने हिउदे आँधी–तुफान बन्दै
स्वतन्त्र भ्रमण–रमणको
गोरेटो खन्दै छन् बुद्धहरु, अविश्राम ।

बढ्दो झाडी यो विकृतीको
डढाउने दावाग्नी झैं
जीवनको त्यो ज्वती राख्न
नसक्थ्यो त्यो विद्वत्वले
न सक्थ्यो अब त्यो ध्यानगंगाको कसिकसाईले
न सक्थ्यो कुनै अल्पभाषी जनहरुको
स्वसाधना वा प्रवचन वा भक्तिधाराले
भरिसकेको त्यो भाँडोमा
न अट्थ्यो कुनै बुद्ध त्याहाँ
त्यसैले त यहाँ,
यो असैह्य अर्तनादको गुहार दिन
अनि ती पशु चित्कारको
नियतमाथि रगत, पित्त, सिँगान थुक थुक्न

अब यहाँ,
इटाको जवाफ पत्थरले
गोला बारुदको जवाफ, गोलाबारुदले
आतङ्कको दुन्दुभिहरु, मानविय संवेदनको आतङ्कले
काँडा बनी मान्छेको सुरक्षामा
अब रहेनन् कोही प्राकृतीक बुद्ध
त्यो सत्, अहिंसाको गोरेटोमा ।
तर, यो पटाक्षेप हो यो क्षणभरको नियात्रा
आउँछ त्यो दिन यो धरतीको,
जो आफै स्वास फेर्न सकोस्
पदार्पण हुन्छन ती बुद्धहरु,
जो ज्वती मानव स्वरुपको
उहि निःसस्त्र, सार्वभौमी, निर्दोषितताको अब्बल किर्तेमा ।

दिलमाय र उनको बबुरो


त्रिशुलीको प्रेममय चाप्लुपताले कुत्कुतिएर
डाँडाकाँडाहरु उछिृङ्खलताले लहलह झाँगिएको छ
एकैनासको सुस्त रन्कोल,े
सागरमा पुगेर विश्राम लिने धुनमा
बाँझो वा उर्वरताको विरासत छोडी
आफ्नै आङ्गमा एउटा जगत बोकी
अविराम यात्रा गरिरेछ, त्रिशुली !
यो यात्रा उसका लागि मात्र थिएन
यात्रापथ बीच, प्रसव पीडा र वेदनासँग
कयौं पथिक जन्माएको छ
उजाड मरुभुमी माझ,
च्याँँ–च्याँ र चुचीँ, पथिक प्यासलाई निर्घात टोक्दै
बेमनसुवा÷बेमञ्जुरी अथाहा अब्धि बीच घाम चुस्दै !

समानान्तर समथर किनारा
अग्घोर अङ्गना बीच एउटा अल्पविराम
जीवनको इमारत खोज्दै
मानव मानवको मानवत्व खोज्दै
बालुवा चुस्दै हरहर मेट्दै
सानो आयुशेष बीचको घनिघसाई
कोमल बबुरो माथिको भरोसा
चढ्दै दुर्गम जङ्गाल माथि
खोज्दै एउटा खुसिको दुन,
त्रिशुलीको अविवेकी पदचापहरु ।

पहाड धिर अनि बेजोड दिलदार
श्रमशिलताको अजब अब्बल
अकण्टक पुष्पको अधिप
न छ रिस, राग र अहिस
न कुनै जरह, तिव्र चाहा र मानव वितृष्णा
छ मात्र साहस, धिरता र जिगीषा,
श्रम÷उद्यमशिलता अनि सुशिल शितलता
एउटा दुखत अवयव त्यो नदीको
किनाराको तितिक्षा निहित जीवन
एउटा सौष्ठव कलङ्क अनि बेढव
दारुण दर्दता र दीनहिनताको कुन्था
त्यो ज्यादै विप्रलब्ध मानवबाट
मानव हुनुको विशाल वृषल
एक पहाड, एक तूष्णीक
हाय ! दिलमाया ।

झुत्रा–चिथरा, हाय ! त्यो नाङ्गो आङ
भोको पेट आफ्नो, हाय ! त्यो बबुरो
रगताम्मे हात बीच, हाय ! त्यो हम्मर
छैन केही जीवनको, मात्र एक अभिप्षा
जीवनको बदला जीवनको बलिदान
अनमोल रस त्यो गोल बीच
जीवन कुट्दै जीवन जोड्दै
हाय ! ती दिलमाया ।


न छ मोल त्यो अनमोल गोलको
विकल्प छैन त्यो कल्पकृयाको
आँशु थाप्दै त्यो  नियती पखाल्दै
हेर्दै बालबबुरोको त्यो कुटाई
एकैछिन पछिको त्यो खुन बगाई
चुस्दै अङ्गुल काखी च्याप्दै
भाग्य भरोसाको त्यो अभिसाप
शुन्य सन्नटाको त्यो त्रिशुली माझ ।

दल÷शाषकको बृहत मेला
जनरञ्जनको एकै स्पृहा
फोगिन सपना कुत्सित स्वार्थ
बाड्दै टोक्दैको त्यो चरमविदु्रपता
चिप्ला मुख धमिला पेट
रोप्दै उखल्दै अमृत वृक्ष ।
पटाक्षेप, सब यी राज–छेम मञ्चनको
हुदैन यहाँ हित कोही दुर्बलको
न थ्यो आश त्यो जगदन्तकको
तर आक्रन्दित छिन् दिलमाया
क्रुद्ध छ त्यो बाल बबुरो
आँखा भई नदेख्ने त्यो
नवयुग बोक्ने दुसाधको ।

दावाग्नीको तेज बोक्दै
बिचरो त्यो बाल बबुरो
नदारतको पहाड फोर्दै
मसाल बोकी अजादीको
लाग्यो वायुवेग सरी त्यो
खोज्दै अस्तित्व ती बालसखाको ।।

उठ जाग अब !


घोर नीदको यो अभ्यस्त पाना
भोग्दै दुर्नियतीको तानाबाना ।
किन जोड्दैछौ अक्षर अब जानी
भो व्यर्थ अब उठ सब तुच्छ मानी ।।

काला बिकाउ सब काम छोडी
मानव खज्ने अब गोरेटो रोजी ।
पाखुरी उठाउ रस अनमोल बगाउ
बाँझो कोख यो धरतीको रसाउ ।।

जन हो वैशिष्ट्य अचला भरिको
नरविमूख किन तिम्रो मञ्जिल यो ।
न हौ पथिक तिमी राज छेम पथको
हौ एक जुन तिमी धर्ती बोक्ने वीरको ।।

विशाल भरोसाको तिमी एक अभिरु
न छोड धै¥य नरोक ती पयरहरु ।
सब अलन्तरको कुल दीपक तिमी
उठ जाग अब सब कलुष त्यागी ।

अलभ्य छैन कहिल्यै त्यो जन
छ मात्र माझ्नु तिमैो त्यो मन ।
हेर कति छन तिम्रो आश बोक्ने
तिमी हौ अब, हाँसो वा आशु रोज्ने ।

जनमथात अचलाको कालो घनघटा
हटाउ, जगच्चक्षु तिमी त्यो चरमविद्रुपता ।
मिती नै हौ त्यो बजिब तूष्णीक
उठ जाग अब वन तिमी गुडाकेश ।

अब नवोली तिमी आफ्नो मान्छे नमार
अब नहेरी तिमी आफ्नो मान्छे नमार ।
अब नउठी तिमी धरा भार नबन
उठ जाग फिलिङ्गो ननिभी बलन ।।।

क्रान्तिवीर


निष्कण्टक मलय पवित पुष्प वृक्ष
निकम्मा निशाभर धराको नूतन निशाकर
नग्न गाथाको एक विप्लवी मानव
शैल झैँ अटल यो दृढ प्रतिज्ञ्य
यो क्रान्तिवीरको वीरावरण ।

माटोको घेरा जोड्ने
अन्धभोकमा चिढिएको
माटोको स्तनमर्दनको भारा जोड्न
मान्छेहरुकै मान्छे  टोक्ने
कुत्सित पाशविकताले च्यातेको मानव
यो क्रान्तिवीरको वीर हुनै सक्दैन ।

आँखा भई चिम्ली हिड्ने
आफ्नो चोक्टा माहाप्रलय
अरुहरुको सोमरस चटनी
सगरमाथा चुम्ने नियतमा
मुकहरुको हिर्दोक भ¥याङ्ग
यो क्रान्तिवीरको क्रान्ति हुनै सक्दैन ।

रुनेहरुको आँशुबाट
मुख धोई सन्ध्यामा
भट्टिभित्र माइली÷कान्छिको
यौवन लुट्ने धु्रतसँग
मुख जोड्ने व्याधीहरु
यो मान्छे बोक्ने क्रान्ति हुनै सक्दैन ।

मान्छेहिन जल्लादहरु
अधिभूतले मात्तिएर
मनुस्मृतीका तार चोर्नेहरु
जनवेदीको आँधिबेरी ल्याइ
शेर बन्ने दुर्नियतमा
आँखाभरी सपनीको प्यास बोकी
विपनीमा विकृतीको चिहान खन्नेहरु
यो क्रान्तिकर्मको सहचर बन्नै सक्दैन ।

बचेरी÷बबुरोको प्यास मेट्न
बिजुली झैँ बल्ने चरी
छिमेकीको दुर्दशामा
नाङ्गो नाचको वितण्डा रची
कुलवैरत्वको झ्याली पिट्ने
खैराँते त्यो जीवनमूनी
जनरञ्जनको अफवाह फुक्ने
नूतन अचलाको ध्येय कहिल्यै भेटिन्न ।

देहाती झुपडीको संघारमा
घुम्टो ओढ्ने जगच्चक्षु
आफ्नै विलासी दुन्दुभि भित्र
अगम्य जनको चिहान माथि
जिउँदो सालिक बनी गुटिका हाँक्न
किन्चित शरम छाडा किम्मतीहरु
अथाहा प्यास बोक्ने काकाकुल हुनै सक्दैन ।

शास्शास्त्र रट्ने शिरोमणीहरु
गोरु झैँ मान्छे लडाइ
मान्छे माथि छाँद लगाईर्
एक्सन ‘कट’को ताण्डब रची
विवेक बन्धनको डोरी कस्ने
राज छेमको चीरसञ्चित सपना बोक्ने
निरिह, जातिविमूख, दुसाधहरु
मान्छे खोज्ने क्रान्तिवीर हुनै सक्दैन ।

कोरा मानव थुप्रोमाथि
रङ्ग—भङ्ग र दङ्गको आवरण देख्ने
समदुरीको अन्तर्मनको चित्कारलाई गुहार नदिई
दानवी सिमाङ्कनको सम्प्रभुत्वमा साँध्ने
मान्छे बनेर नबाड्ने त्यो
अघोरी निहोरा माथि
मान्छे हेर्ने वीरता बस्नै सक्दैन ।

निष्कण्टक जनआसक अभिरु
खुला किताबी हृदयपथका
सहज जोडाइका पथिकहरु
समरेखाका चरम तन्देहहरु
सम चाहा र स्वार्थका अब्धी कटकिन्दारी
पुष्प जडित मनमञ्जरीमा
विशाल तृष्णाको गगनमण्डल बोक्ने
कठोर त्यागी, अब्बल ओजस्वी
शितलता बाँड्ने छहारीमा
तुफान बोक्ने वीरहरु
आफ्नै रगत पिइ प्यास मेट्ने
उर्वर विरासतका हिमायितीहरु
समग्र युग निल्ने विप्लवीहरु
मान्छे  खोज्न मान्छे बोक्ने
युगभरका हुन ती क्रान्तिवीरहरु ।

कोही क्रान्ति निश्वार्थको गर्भमा लुक्दैन
मान्छे भन्दा माटो खोज्नेहरु,
असली सारमा क्रान्तिवीर हुनै सक्दैन । ।


                 

Gajal


जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि 
बादलभित्र
 लुक्छ घाम उजेली त्यो दिनमा पनि

बाँडिसकें जीवन अखिर छाँयाभित्र लुक्न खोज्छु
छाँया पनि नभेटिने औंसीको त्यो रातमा पनि ।

दुई(तीन रातको बसाईमा मान्छे बन्न सकिन म
मान्छे(मान्छे भेट हुने धर्तीको यो साथमा पनि ।

अतीतको आँगनीमा बिउँझाउँछ मन किन
अमृत नै देख्छु किन बिषालु त्यो जातमा पनि ।

आँखा चिम्ली बाँच्न चाहे अँधेरीले पछ्याउँछ
सपनीले जिस्काउँछ छाड्दैन त्यो रातमा पनि ।
जुनकिरी नै साथ हुन्छ अँधेरी त्यो रातमा पनि ॥

मौन काठमाण्डौ



कुकुरको साम्राज्यले निलेको छ शहर
नीद खोज्ने बजारमा जलेको छ रहर ।

असभ्य त्यो जङ्गलीपन मानिसमा मौलाउँदा
हाँसो बग्ने मानिसको टुटेको छ नहर ।

विकृत त्यो कालाकर्तुत शिरमाथि चुलिँदा
मौनताको बाँध खोल्न लागेको छ कहर ।

प्रकृतीको उदेक लाग्दो सिमांकनमा बाँधिदा
नीरिहताको कुनेटोमा मरेको छ रहर ।

मेरो मुल्य किम्मती छ नजिस्काऊ भो
छातीमाथि महामारी लागेको छ लहर ।

चिहानको कुनाबाट श्रमिकले चिहाउँदा
मान्छे बस्ने उद्यानमा फलेको छ जहर ।

कुकुरको साम्राज्यले निलेको छ शहर
नीद खोज्ने बजारमा जलेको छ रहर ।

एउटा मृत्यु


                                                                                                                                      २०६५साल
मान्छे मान्छे नै हो
मान्छे मान्छे बेचेर मान्छे कमाउँदैन
उसले देख्न सक्छ ।
भैँसीले आफ्नै सन्तान कुल्चन्छ
ढाडेले आफ्नै बच्चाहरु खान्छ
बोकोले आफ्नै आमाको सतित्व लुट्छ
किनकी ती अन्धा छन् ।
तर मान्छे ज्वतीमय छ
सारा धर्तीको अन्धकार चिर्न सक्छ
उसलाई आफु भरिएर सन्तुष्ट छैन
किनकी उसलाई सोमालिया, सुडान, इथियोपिया दुख्छ
अफगानिस्तान, केन्या, र इराकले घोच्छ
विहार, यु पी र दिल्लीका सडकले पोल्छ
मधेस, तराई, पहाड र हिमालका झुपडीले जिस्काउँछ
रत्नपार्क र अन्य शहरी भावभङ्गीले थिच्छ
पहाड र हिमालको दुर्गम दरारले छेक्छ
तराईको खहरे भेलको उछृङ्खलताले बगाउँछ
र पो उ मान्छे छ ।

मृत्युबोधमा मान्छे जीवन हिडाउँछ
अनि डरपखेरुले जीवन लुकाउँछ
जीवनभर दास बन्छ— नियतरुपी तिरस्कारको
उद्दारको भिख माग्छ — मृत्युसँग लुकिलुकी
कोठामा थुनिएर विश्व ब्रमाण्ड चाहर्न खोज्छ
र अवाक् पशुझैँ आफ्नै दाम्लो चाट्छ ।

खोला आफै धाउँदैन तिम्रो प्यासमा
अन्न आफै झुल्दैन तिम्रो भोकमा
सुर्य आफै तिमीसँग डुल्दैन तिम्रो शिशिरमा
त्यसैले तिमी धाउनुपर्छ÷दौडनुपर्छ
गोरेटो साँधुरो, फराकिलो वा असहज हुनसक्छ
कतै मृत्युका धरापहरु हुनसक्छन्
त्यो नै हो चुनौती अनि जीवन ।

जिन्दगी टुक्राएर हावामा उडाएर के पाउँछौ
वा बटुलेर, थुप्राएर पनि के पाउँछौ
नाङ्गो हुनु र भरिनुसँग जीवनको कुनै सरोकार छैन
यी त सब जन्मपछिका कोरा र बेतुकका स्वागत मात्र हुन
आफैलाई खुइलाएर कुरुप बनाएर भागेपछि
पालुवा र कोकिलको रसिलो बैंस बोकेर बसन्त आउँछ
हामी पनि उर्वर छौँ, लहलहाउन सक्छौँ
सियोले धर्ती प्वाल पारेर केही पनि हुदैन
एक्लै उफ्रेर ज्वालामूखी फाट्दैन
एक्लै थुकेर समुन्द्र बन्दैन
तर तिमी निम्छरो पनि छैनौ
तिम्रो मानविय अतल अगम्य छ
तिमी छद्मभेषी पृथ्वीको एकै विवेकी
त्यसैले तिमी रह बनेर जम्न सक्दैनौ
तिमी कोर्न सक्छौ आफ्नै चित्र
तिमी आफ्नै अभियन्ता
तिमी आफुजस्तैका नमूना
तिमी निगुढ छौ
तिमी आफैलाई खोज !

जीवन पराधिनतामा पछुताउँछ
अनि सुख, छेम र बैभवत्वको जिताईमा पनि
रमाउँनु त एक आवेस मात्र हो
हिमालको हिउँले पहाड चिस्याउँछ
पहाडको पसिनाले सतहको मैदान अग्लाउँछ
कसिकसाई र दकसमा एउटा कोरा विद्वान डराउँछनै
मरेपछिको दायद जोड्दै, हाम्रो समाज फाट्छ ।
आखिर माटो, बन्धन र दौलतको दिक्कत
हिरोसिमा र नाकासाकीमा पोखिन्छ
र अन्ततः व्यर्थ पराक्रम भाँचिन्छ
अनि त्यहि खण्डहर दुन्दुभि भित्र
अभिसप्त प्रतिशोधमा चेपिएर
त्यहि दुर्दम दर्पभङ्गमा माटो खान्छ
र यात्रा चिरकालको गर्भमा पुरिन्छ ।

तर मान्छे त्यति सजिलो छैन
यो आफैमा अचाँडु र अखानो पनि छैन्
उ आँखा चिम्लेर बाटो छोट्याउँदैन
कान थुनेर समुन्द्रको शालिनता पढ्दैन
र यो चाह्यो भने यो पनि गर्न सक्ला
तर उसको दुर गर्भको मन छोप्न सक्दैन
उ नचाहेर मनसँग दौडन्छ
र ऊ उसको अक्षशालामा भएको द्वन्द्वमा
कोर्रा दौडको बाध्यता खेप्छ –खेप्छ ।
उ निशब्द र सुन्य बन्न सक्दैन
किनकी उसका आँखाले नचाहेर हेर्छ
अनि उसका कानले नचाहेर सुन्छ
हुनत यो पनि दुर्दम नहोला
तर त्यो दुर्दम मन कदापि छोपिन्न
यहि हो अध्यात्म र जीवनको भेद ।

कालजयी कर्म र आत्मा हुन्छ
भौतिक शरिर त जल्छ — गल्छ
नचाहेर एकदिन हिड्न छोड्नुछ
यो त मखमली कपडा र आरन न हो ।
उसको मुल्यमा धर्ती सिँगारिन्छ
तर उहि मुल्यहिन बन्छ,
मुल्यहिन पराक्रममा पनि उ शिर ठाडो पारेर हिडिरहन्छ
किनकी त्यो नै वास्तविक गन्तव्य हो
जसमा एउटा जीवनको अवशेष छ
आशा र अपेक्षाको झिल्को छ ।

मान्छे वीर हो ध्वंस होइन
मान्छे धीर हो पहाड होईन
मान्छे काकाकुल हो चुत्के होइन
मान्छे विवेकी हो बेहोसी होइन
पृथ्वीको गर्भ खोजेर पृथ्वीको उचाई बढ्दैन
मान्छेको पुर्खा खोजेर पनि अग्लदैन
समयको गतिसँगै मान्छेको प्यास भेट्नु नै
मान्छे मान्छेविचको साँधु हो,
जसरी खडेरीमा पानी बर्षनु ।

हुन त एक्काइसौ शताब्दीको नेपाल खोज्न
इतिहासको संगा्रहालयमा दौडनु व्यथृ छ,
रत्नपार्कमा एकघण्टा उभिए पुग्छ
सिराहाको दलितबस्तिमा दुर्दुराए पुग्छ
मुगुको भित्तामा नुनिलो माटो बने पुग्छ ।
जसलाई अरुले परिभाषित गर्छ
ऊ उसकै नाम बोक्छ
यहि नियती छ, बेनामे पदार्थको
अर्काको भारी बोक्नु र उहिबाट छुट्टिनु ।

मैले अक्षर, मृत्युको मुल्य खोज्न जोडिरहेछु
एउटा मृत्यु जसले इतिहास बोक्छ
जहाँ असैह्य मृत्यु जीवन बनेर मर्छ
जसले पसिना बगाउने सिञ्चाई नहर खनोस्
जसले प्यास मेट्ने इनार खनोस्
जसले गास जोड्ने भकारी भरोस्
जसले हाँसो बग्ने किनारा देओस्
जसले मानव श्रेष्ठताको अँचेला बनाओस्
जो दिग्गज मानवको चिनो बनोस्
जो भिन्न होस्, पृथक होस्
यहाँ यहि एउटा उच्च जीवनको खडेरी छ
एउटा उच्च मृत्युको खडेरी छ
जो तिम्रो हृदयमा गड्गडाएर
तेज वर्षितमा आतुर छ
जो मेरो जीवनको दैनीक सपनी छ
तिमी तिम्रो मान्छेलाई सोध —तिम्रो मान्छेलाई नथुन
किनकी तिमी नै एक, यस धराको
सुकेका आँतको अमृत प्याला हौ
मेरो सपना मेरो एउटा मृत्युको प्यासी छ ! ! ! ! ! !

आधा घण्टा



निस्सासिदो धुल–धुवाँको मेघमाला
धर्ति फोर्ने गगनभेदी चिच्चाहाट
सघन अधरामृत माथि गन्दगी पहाड
जनजन्तुको चित्रपट यो हाम्रो शहर ।
यहि शहरको एक वृद्ध स्तम्भ
सडकपेटीको किनारा माझ
जीवन जोड्न जीवन टोक्दै
घोर घनिघसाइको बोझ थेग्दै
अचल अचलाको अटल अवयव ।

शब्दशः यो एक धृष्टता
क्षणभरको यो देखत कलिला
मनमञ्जरिको एक सुमन
चिच्चाई डो¥याउदो छ यो यात्रा पथमा
श्वास जोड्ने पिपलु खोज्दै
हरदम अकेला त्यो मूढो काय
सखर गोल र नरिवल,
एक टिन र एक पतरीको
विपुल बोझले थिचिरहेछ
तर त्यहाँ,
मेरो मानवको दुरुह अतल
अवसादले निचोेरिएर
बालुवाको खण्डहर बनाइ
आदिम मानव लडिबुडी खेलिरहेछ ।

धुसुरमुसे त्यो कालो मसान
सेतै फुलेका ती उज्याला केश
छाति उठाई, झुकेका ती वृद्ध निशानी
चिथरा, अर्धानोको उजाड पहाड
जीवन जघाँरको साँघु बोक्दै
अहर्निशको त्यो चिरजीवित जोस
फगत एक अभिधेय,
बालबनिताको त्यो जीवनपुञ्ज ।

गोटा चार बीसको जीउँदो चिहान
पाइला राख्ने उछृङ्खलताले उध्रिएर
अभाव, शुन्यताको कोरा पानामा
अक्षर जोड्ने भगिरथ प्रयत्नमा
वृद्धतन्तुको रस प्याला पिउँदै
आँखा जुदाई अग्नीपथमा
जीवन जोड्ने बुनियाद खोज्दै
आफ्नै जीवनको एक मरियाँत ।

भर दिनको त्यो जीवन दहन
सुखद उन्मुक्तिको अवशेष पोल्दै
सब निहित भुमण्डल बीच
राक्षस प्यासको खुट्टामुनि
जयजयकारको झ्याली पिट्न
घाम पानीको दुसाध बज्रसँगै
प्रतिशोधको सार्वभौमिकतामा ।
दुई मिनेटको दश बिसौंनी

पामर दम÷कफको लाचारी सम्बल
न आक्रोश, क्रोध र चित्कार
मानव सघनताको श्रम बरदान
अशक्त जाहान र बाल–बबुरोको
हृदय प्यासको धड्कन माझ
कुसुम पत्रको त्यो जजमानी
धिक्कारमुक्त मझेरीमा
दुसाध कादम्बिनीको अस्थिरतामा
निःस्पापी सौर्यको मुहार खोज्न
अनमोल त्यो रसिलो गोल
मान्छे हुनुको त्यो कचहरीमा ।

आधा घण्टा छ जीवन
आधा घण्टै छ गोरेटो
तर, धीर साहसको त्यो अब्बल नक्षेत्र
र खोजिन मैले अर्को दौैंतर
यी अभियन्ता हुन् मेरो मान्छेको
जो ललकार्दै मेरो मान्छेलाई,
सिस्नुघारी हातले पन्छाउन
अजादीको मान्छे हुल देख्न
जो मान्छे देवको पूजित हेर्न ।
मेरो हृदयको बिजुली देखि
मेरो हातले हिरन प्यास मेट्न
मेरो दर्पमा मावन रोप्दै
भिष्म, भगिरथको मिथकले
जोसिलो अर्तनाद पोख्दै
सुनको बिहानी टिप्न
एक मर्मान्वेषणी– एक अग्नी पुल्ठो बोकाई
यो अचल धराको सर्वाङ्गमा
एक वेतलबी चप्रासीको अभिधामा
माटोको अभेद्य निशानी थमाई
माटै खाए सपथमा
फेरी यस्तै अनुपम जीवनको ।

मेरो मित्र रानमरतन मधेसे



ऊ सीमाङ्कन खोज्ने घनचक्करमा कहिल्यै भौंतारिएन
न त आफ्नो पहिचान खोज्ने अगम्यतामा नै
उसले देश पढेन मैले जस्तै
र देशपुत्रको अहम्ताको घण्टा कहिल्यै बजाएन,
त्यो बढी खरानी घस्ने नयाँ नेताले झैं ।
मैले देश सोधेँको थिएँ
उसले कुन्नी धराबासी भन्दै थियो ।

उसँग मात्र दुई हात अनि आफ्ना नामका जहान परिवार
उसका पुर्खा यहि माटोमा खहरेसँग बढारिए
उसले भौतिक सीमाङ्कनसँग बिदा लिएको वर्षौ बिते
मसँग काँध नमिलाएको पनि वर्षै भईसके
ऊ मधेसको फसलपवित रोधीमा ननाचेको वर्षौ भयो
गोरु झैं ननारिएको(ननिमोठिएको पनि वर्षौ बिते
नारियोस पनि कसरी,
अर्काको विर्तामा अनि भोकको सुर्तामा ।

ऊ एउटा जीवन र जहान–बच्चा च्यापेर
बिरालोले घर सारे झैं
पहाड भासिएको धेरै भईसक्यो
सायद ऊ राजधानीको सभ्य भनिएकाहरुको बस्तीमा
दिसा–पिसाब, अस्थिपञ्जर र धुलाम्मे गन्दगी सडकपेटीमा
त्यो उच्चाट लाग्दो अशिष्टताको सिरानीमूनी
अस्तव्यस्त कोलाहाल तथा चित्कार बीच
विशिष्ट सभ्यताको रसास्वादन गर्दै होला ।
त्यो घण्टाघरले हिड्न नमानेको धेरै भयो रे
तर कसैको मृत्यु सूचक बनेर किन हिड्नु र रु
ऊ निर्विकल्प त्यहीँ मूनी छ
किनकि उसलाई बाँच्नु छ
र बाँच्न समय दौडाएर सकिन्न ।

उसले जीवनलाई सर्पले झैं काँचुली फेराएन
न कुनै एषणा वा आवेगहरुमा पिल्सायो
विवेक बन्धनले अन्धा भएका नीरिहहरुसँग
उसले आफ्नो निरपेक्षता कहिल्यै डगाएन
आफ्नो कुसुमी–हृदयका विरासत वा पदचापहरु कहिल्यै मेटाएन
र पो ऊ यत्र–तत्र वितत छ
विपूल अनि पृथुतम छ
किनकि ऊ श्रमआसक अब्धी हो
त्यही हो उसको झिझिया
त्यही हो उसको रातो बिहानी
उसले रात र भुत गाडेको छ
बिहानीको कुन्था बोकेर अभिसप्त बाँचेको छ
उसलाई थाहा छ
गाडेको मुर्दा मफत उधिन्नु ।
बिहानीले दिउसो जन्माउँछ
र दिउसो रातको नीदरीमा लोलाउँछ
र त्यही रात बिहानी खोज्ने दौडाहामा
अविरामा यात्रातुर हुन्छ
र शीतको विनु झैं
बिहानीको लाजसँग छोपिन्छ ।

तर ऊ अटल–अचल छ
न त कादम्बिनीले उसलाई मैलाएको छ
न सौदामिनीले उसलाई चम्काएको छ
उसका अगाडि सबै लाचार र नीरिह छ
उसका अगाडि शिरनमन गरेर
यो ब्रमाण्ड चराचर घोप्टिन्छ ।
न अन्तर्दिलको कुनेटोमा
निराशता र विवसताको अर्तनादले विषाक्त छ
उसले सम्र्पुण धरातललाई गिज्याइरहेछ
र लाग्छ त्यो विवस र नाजुक धरातल
जीब्रोमा लगाम लगाएर
उसको सेवा शुश्रुवा र हितमा निमग्न छ ।

त्यो उराठ र तातो अन्नभूमिबाट
उर्बरहिन प्रकृतीको परीसँग ठोकिदा
उसका खुट्टामा बिझेका सिसाका टुक्राहरु,
मानव हो वा पशुका अस्थिपञ्जरसँग चिप्लदा समेत
उसको खुट्टामा बगेको खुनसँग
उसले बदलाव बोकेको छैन
उसले अझै मान्छेप्रति
घृणा वा वितृष्णाको क्लेश समेत उमारेको छैन
उसले बुझेको छ
ऊ त्यो अनकन्टार कन्दरामा
लहलहाउने सिस्नु र अँगेरी चपाउँदै छ ।

अग्घोर र उत्कट सभ्यतातिर
बगिरहेको त्यो अविछिन्न खहरे हेरेर
उसले मार्गशिर्षको अपेक्षा अंकुरीत गरेको छ
खहरेसँगका अभक्ष्य अवयवसँग
उसले मुख गाडिरहेको छ
र त्यो अक्षुण विवसता बीच ऊ उच्छ्वसित छ
उसले अवला पशु झैं छाँदमा जेलिएर
आफ्नै जस्तै स्वरुपका मुर्तिहरुको पाउ पखालिरहेछ
लाग्छ ऊ शुन्दर मुर्तिको बेतलवी पुजारी हो,
ऊ विक्षिप्त मुस्करित छ
किनकि ऊ त्यही श्वास भएको मुर्ति चक्काईरहेको छ ।

गाफिलसँग उसको सरोकार छैन
मात्र त्यो नियात्रामा निरन्तरता दिनु छ
उसका दुई गवाक्षको के खोट
अजादीको साहित्य रच्ने
त्यो श्रष्टामनको के दोष
उसका इन्द्रियका आपणमा थापिएका
किम्मती अहिस वा तितिक्षाको
त्यो निर्दोषितामा किन जलोस
त्यो सार्वभौमिकतामा कसको प्रतिरोध रु
त्यही अभिनवतामा नै ऊ शासित छ
यो जीउँदो सवाङ्र्ग नग्न धरतीमा ।

हिमाल धुपमा आफ्नो उचाई घटाउँदछ
तर उसले गर्मिमा उचाई थुपारेको छ
किनकि त्यही समय हो, यो नराधाममा
हावा धुलोमा छोपिएर नक्कली बन्ने
अनि अरुमा आसक भई अस्मिता बेच्ने
र त्यही कुमारीत्व खोज्न भौतारिएका
सभ्य, शुन्दर र प्रगतिशिलता तर्फ उन्मुख
ती अति उच्च र उर्वरशिल श्रेष्ठ मानिस
जसको खराउमा त्यो मेरो दौंतर रङ्ग पोत्छ,
जीवनका बाँकी पाटपुर्जामा खिया लगाउन ।

त्यो त्यही भूमि हो
जहाँ कोही पहाडे(मधेसेको अफवाह खेतीबाट
अपार अदाच्छे भण्डारण गर्न सफल छन्
अनि यहि र यहाँको भूमिमा
जहाँ मेरो त्यो लगौंटियार
खालि पाना जीवनका अक्षर जोड्न
युगौं युग अविछिन्न धायो
अनि उसले मागेको भन्दा बढी नै बाँड्यो
रुखो क्षुधाको मुखमण्डलमा उसले सुन झुलायो
उसले मान्छेमा मान्छे भन्दा केही देखेन
न पहाडे, न मधेसे, न हिमाले, न ऊ, न अरु
ऊ मधेसी जमिनदारको दाश थियो
श्रम मुल्यको उसमा कुनै अपेक्षा थिएन
जिम्मेवारीमात्र सम्झ्यो श्रमलाई
तर खालि पेट कोही पाजीको किन भर्नु भकारी
आफ्नै शिरमाथिको बोझ ।

भोका, नाङ्गा तर सघन श्रमबस्ती यहि हो
प्रथम कौवल्यको बिहानी उसले टिप्नुपर्छ
झुप्रा, छाप्रा, चिथ्रा र चिथरामा
च्यातिएका सतरञ्जा मात्र सुहाउँछ
तर विवस १ बलाद् शोषण र दमन,
उन्मुक्तिको कमजोरीको बजार,
लिलामीको ताण्डब त्यो मुटुको,
कुत्सित दुसाध स्वार्थमा दुर्गमताको कसिकसाई,
आँखा चिम्ली छातीहरुको भर्याङ्ग ।
जो नुहेर उसको जुत्ताको फित्ता खोल्न लायक छ
तर उल्टो आज उसैको पाउलागी
तर पनि उसले शुन्दर मानव देखेको छ
जो उसको कल्पनामा श्रमशिल, विवेक र किम्मती छ ।

खोई उसको राष्ट्र रु
खोई उसको पहिचान रु
कुन हो उसको जनमथात रु
अनि के हो र माटो रु
उसले जीवनभर जीवन खोज्यो
जीउँने बहानामा गाँस टिप्न दौड्यो
उसले पहाड चढ्दा मधेस ल्याएन
ऊ हिमाल जाला पहाड बोक्दैन
र फेरि तराई झर्ला हिमाल बोक्दैन ।
उसले प्रत्येक हृदयको भावभङ्गी पढेको छ
तर कहिल्यै भेटेन,
पहाडे, मधेसे, हिमाले, विहारी, बर्माली, कर्माली
बेतुक, बेढब र कुरुप ढाँचा देखेन
त्यो शुन्दर र अक्लान्त मान्छेमा ।
उसले आफुलाई पनि केरेको छ
उसले देश भेटेको छैन, भेष भेटेको छैन
जहाँ अब्बल अपनत्व होस्, श्रमको
पहिचान र नागरिकता खोजेका छैन
जहाँ मान्छेको असलियत भेटियोस् ।
तर उसको देश त्यही सन्दुस र सडकपेटी हो
अनि उसको नागरिकता त्यही ब्रस, काली, तुना र तलुवा हो
उसको ओत भन्नु त्यही घण्टाघरको छायाँ
कति दिग्गज र तिरिखुरी समुन्द्र
जो अगम्य, अथाहा र अभ्यस्त छ
त्यही मेरो दौंतर
जुत्ता पालिस गर्ने मान्छे रामरतन मधेसे