रत्नपार्कको खुट्टाविहिन माग्ने


लाखौं मान्छेका चालहरु
मुहार र उसका भावहरु
सायद पढ्नैका लागि बनेको जीवन
रत्नपार्क नजिकैको एक जिर्ण पुस्तकालय ।
अनुभवहरुको खडेरीमा
निष्प्राण बनेका नवजीवहरुको
आँखा र हृदय पढ्दै र भोग्दै
उ अनुभवहरुको मृतसागरमा
डुब्नै लागेको डुङ्गाको नाविक झैं
तैरने घनिघसाइमा ओझेल पर्दैछ ।

जीवन आयुशेषको एक—दुई पाना पल्टाउँदै
पूरै पुुस्तकको सार खिच्न
उ वर्तमानमा आँत सुकाईरहेछ
रुखो बलेसींमा
वर्षौ पछिको मुुसलधारे पानीको
जिवन्त उपस्थितिको उत्तेजित हरहरलाई
एक—एक थोपा पसिनाले
रसाउँने ध्येयमा
उ कपासको थुप्रोमा थुक्दैछ ।

वृद्ध मेसिनको उग्र गतिशिलतामा
उषाको पहिलो झुल्कोसँगको स्पर्शमा
प्राकृतिक भिटामिनको रसास्वादनमा
अनवरत, अविचलित, अक्लान्त सीमसार
नौला जिवजन्तुहरुको तिर्थाटनको
उ निर्दोष साक्षि ।
पछुताउ र पराधिनता वा उत्पादनसँग
खिया लागेको पार्टपूर्जामा पनि
अभिनव जोस घुलित
सघन जिवन्तताको नौलो यात्री
उ अजेय असुर
देवता नामको छलछाममा जीवन खोज्दैछ ।

उ टीठले उभिएको मूक सालिक हैन
उसले सद्दे जिवात्मालाई बौलाहा बनाइरहेछ ,
उच्च अभिजात वर्गको स्वर्गमा
उसले भोक बोकेर राज्यलाई ललकार्दै
दोपायको मनमा समेत विष उमारेको छ ।
निर्धनता र दरिद्रताले जर्जर
मानव हृदयको भोको खाडलमा
उसका संघर्षका हस्तचापहरु
विशाल उब्जाउका सामथ्र्यमा थिए
आज ढोंगी मानवको रुखो बसाईमा
एकमुठ्ठी जीवनको पासोमा
उ एक इत्तरो ब्याधी बनेको छ ।

मान्छेमा मान्छेको दरकार नहुनु
स्वयम् अग्लनुको भिमकाय स्वार्थमा
मान्छे द्रव्यपिचासको दुरागम निशब्दमा छ
न मान्छे बाँच्नुमा मानव जोखिन्छ
न कुनै दरगाहाको फैसलामा दलिल जोड्नु छ
आखिर जीवनको मौलिकतामा
कोही प्रताडित हुनुले के महत्व राख्छ र
फगत आफ्नो दिल्लगी गुमाउनु ।

तर कोही नदुख्नुमा
उ कसोरी जिउन सम्भव छ
मानव हुनुको उच्च शुन्दरतामा
पामरजनसँगको भुजपासले विकृत
एकाध विष वृक्षसँग
उसले अस्तित्वको भिख मागिरहेछ
विकलाङ्गतामा पनि अगम्य पहाडसँग
अनवरत सिँगौरी खेल्दै
उसको थाप्लोमा नाच्ने लगन
रत्नपार्कको कर्मकाण्डिय कोपभाजनमा
दिनहुँको बजारबाजीमा उपस्थित बनेर
मेरो एक सिक्काको लिस्नुले
उसको पहाड चढ्ने सपना
म भन्दा पहिल्यै माटोमा मिल्न सक्छ
तर उसले खोजेको आत्मियतामा
म रुखो बनेर मान्छेहिन बन्नुमा मलाई औधी खेद छ ।

0 comments: