२०६६ साल
म प्रकृतीको विलासितालाई कोरेर
मान्छेले भिराएको नारकियतालाई छोप्न सक्दिन
किनकी म अनियन्त्रित र असक्षम कवि हुँ
र अनियन्त्रित र असक्षम कवि
प्रकृतीको मनोरमता र शुन्दरतामा
अझै नानाभाँती रङ्ग पोतेर
कल्पनाको शुन्य दलदलमा भासिन सक्दिन
फिक्का लाग्छ त्यो — कवि र रविको तुलना
।।
म मुख हेरेर मान्छे चिन्छु
बोलि सुनेर चिन्छु
किनकी त्यो प्रकृतीको कृतिमता भन्दा विचित्र
छ
यसमा प्रकृतीको शालिनता भन्दा उछृङ्खलताको
बिम्ब छ
र यो नाश्वर देहको जीवनचक्र
प्रकृतीको भन्दा अथाहा छोटो छ
यसले धेरै देह फटाउँछ
र त म मेरो बाबुको दैनिकी पढ्छु ।।
यो एक तमासा बीचको नियात्रा कविता
दुर्जनहरुको भागबण्डा बीचको भविता
अशिष्ट–आसकवृतीको आसन्दी आख्यान
मनप्यासको उत्तेजित दाशवृतीको वृतचित्र
यहि अनुपादेय पटासीको एक बेमेल
पसिनाको पनि दुई मुल्य— लाज छोप्न
यहि धरतीको एक मनश्चक्षु —एक विवक्षा
मनमञ्जरीको एक निर्देश,
रातो कपडामा बेरिएको लोखर्के ।।
मैले जीवन खटाएर बाँच्न सकिन
त्यसैले रित्तो भएर खोजिरहेँ
रित्तो छु र त भरिन सक्छु
भरिएकाहरु पोखिन्छन् –पोखिन्छन्
त्यहि यो अचलाको डर हो
कतै त्यो पोखाईले चिप्लाएर
मेरो अनुताप मा¥यो भने
म अधीर जनगणना गरिरहन्छु ।।
मानव–मानवको उछित्तो भेद
स्वार्थगत आलिङ्गनको एक बेमेल
तर यो दिदृक्षुको नामूद रहजनी
लवारपाणे विद्वत्वको अहन्ता
भिल्लाहरुको पोल्टोको चिल्ला पत्थर
तनमन माथिको विवसतालाई
अपेक्षाको मरुभूमीमा —शितलताको एक छहारी
नक्षेत्रका रश्मि छोपी
आँखा अघि स्वर्ग खोज्ने
झरना बोक्ने थाप्ले ढुङ्गो ।।
न बेगारी त्यो प्राप्तिको
न लाचारी दीनहिनताको
न प्रमिथस अचुक उन्मुक्तिको
न दिगम्बर त्यो जन्मजातको
केबल मुलाहिजा सस्तो छापको
क्षणिक आवेग वेदत्वको
औपचारिक ढोंगको बसिबास त्यो
आँखा खोल्दा धर्ति रुझ्ने
विवसता माथिको प्रहार त्यो
क्यानभास भित्र आँशु जोड्छ ।।
अङ्ग–रङ्गले सिँगारेर
मिथक—बिम्बले चुल्याएर
चुत्केले झै ब्याज खोज्न
सात पुस्ताको त्यो घनिघसाइ
व्यर्थ लुट बजारबाजीको
सृजना नामको जालो भित्र
गुुटमुटाइ त्यो कोमल हृदयको
आखिर रेहेछ कविता एक रमिता
र त म त्यहिँ झुमी छमछमी नाच्छु ।।
तृणकुटी भित्रको अँध्यारो वस्तुमा
लाजै मर्दो चीरहरण
आँशुहरुको जलधि भिध
प्रचारबाजीको गरिष्ट दर्प
भग्नावशेषको भोको आँत
उचाईको विपुल प्यास,
समता, बन्धुत्व र कर्मको मुल्यसूची
हाडछाला घोटिघोटी चन्दनको आश
कृतध्न जनजन्तुको एक मुस्कान
टीठ—उपकारको पतित ढो्रंगभित्र
एक आँशु मानवको
आखिर छोटो स्वभाविकतामा
म कवि नामको दलाली
बचेखुचेका थोरै मानवलाई
हुर्काउने अहम सिसिफस — तुहेत्रो ।।
खुट्टा बाँधी हिड्न खोज्नु
आँखा छोपी हेर्न खोज्नु
कान थुनी सुन्न खोज्नु
त्यस्तो कल्पनाको मझेरीमा
अझै पतनको हार गुहार गर्नु
अर्को कविताको देह जोड्न
आखिर यति नै रहेछ कविता
र त म माईली सर्किनीले छोएको पानी खान्न
किनकी म ब्राम्हण कवि हुँ ।।
0 comments:
Post a Comment