(दिल्लीमा भएको १२ बुँदे सम्भौताबाट हतियार बिसाएर संसदभित्र थुनिएका माओवादीहरु र सर्वहारा अधिनायकवादको लागि लडिरहेका सम्पूर्ण क्रान्तिकारीहरुका लागि २०६३ सालमा लेखिएको क्रान्तिकामीहरुका लागि पत्र )
युद्ध र युद्ध व्यवहार
एउटा कालो युगको अन्त्य र व्याप्त उदारिकरणको निघृणताको उखरमाउलोपूर्ण —सम्पूर्ण गरिखाने श्रमिकवर्र्ग, मजदुरवर्गको शोषणको सिमा पारको क्रमसँगै युगिन परिवर्तनको विगुल फुक्न र आफ्नो श्रम, पसिना र रगतको मुल्य खोज्न शाषक, नोकरशाही, पुँजीपती, सामन्तिहरुको अन्त्यको सङ्खघोष गर्न श्रमिक–मजदुर तथा सर्वहारावर्गद्वारा शोषण तथा हतियार विस्थापनको लागि उठाइने हतियार र प्रत्याक्रमणको ऋङखला नै वास्तविक युद्ध हो । यो नविन युगको सुत्रपात हो जसमा हाम्रो विजय निश्चित नै छ किनकी यसमा सम्पूर्ण गरिखाने श्रमिक, मजदुर, किसानवर्गको स्वार्थ र इच्छाको अक्षुण एकता रहन्छ । हुन त राज्य विभाजनको कृतिम ढोंग नै हाम्रै रगत, पसिना र श्रमको चर्को शोषणबाट आजको पुँजीवादले आफ्नो जरा सिँञ्चित गरेको छ । जसले उनिहरुका लागि एउटा रतिक्रियाको रणमैदान तयार गरिदिएको छ । हाम्रै नाम बेचेर देश विदेशको सिमाङ्कनका आधारमा आफ्ना महत्वकाक्षीं विलासिताको पहाड अग्लाएको छ । श्रम, पसिना र रगतको बदला हामीलाई दासत्वको कमण्डलु भिराएको छ । हाम्रै श्रमका अनुपम सृजनाहरुमाथि बलाद् नाङ्गो नाच नाचेर अनि हामै्र सन्ततीहरुलाई गाँसको झिनो आश देखाएर भाडाका टट्टुका रुपमा हामी माथि नै निर्मम आक्रमण गराएर आफ्नो स्वर्थसिद्धको ताण्डब रच्छ —यो एक अचम्मको नाटकिय मञ्चन छ यो धरातललाई आफ्नो बाजेबराजुको विर्ताको विरासत मान्ने दलालहरुको यहाँ । हामै्र नाम बेचेर र राष्ट्रिय सिमाङ्कन र निरिहतालाई प्रयोग गर्दै आफु चुलिने र विलासिताको उत्कण्ठालार्ई विदेशी पुँजीपति दलालीहरुको गुह्य चटकहरुको निकृष्ट चेष्टालाई सहर्ष स्वीकारेर पुरा गरिन्छ, हामै्र रगत पसिनाले बन्दुग, गोलि बमबारुद आदि खरिद गरी हाम्रै विरुद्ध हाम्रै सन्तानहरुलाई सेना पुलिसको नाममा एकटुक्रा रोटिको एकमात्र नियतीमा हामै्र विरुद्ध प्रयोग गरिन्छ यो अवस्था एक सामान्य दैनिकी झै बन्छ । लुट्ने र आफै बन्ने क्रम त स्वभाविकै हुन्छ यहाँ । ठेकदार, व्यापारी, दलाली, जमिनदार, पुँजीपतिहरु, समन्तिहरुको संरक्षण र तिनीहरुलाई हामै्र अस्मिता, स्वाभिमान र गरिबी माथि जो उनिहरु संझन्छन —बलाद् लुट्ने र लुटाउने काम हुन्छ । यहाँ जुन गरिबीको आवरणमा कैद गरेर आफ्नै क्रितदाश बनाइ चौबिसै घण्टा जोतिनु र भोक भोकै हुनुत नियतीको वा भाग्यको खेलकै रुपमा मानिन्छ र मनाइन्छ जो उनिहरु लाग्छ जन्मदै जोतिनका लागि बनेका गोरुहरु हुन भन्ने एउटा तयारी मनोविग्रहको क्याप्सुलले सञ्चालिन गराइन्छ तर जोसँग श्रम गर्नको लागि हात खुट्टा नै छैन वा असाहाय र विकलाङ्ग छन् उनिहरु त जिउँदो लाश नै बन्छन । तब यस्तो स्थिति सृजना गर्नेहरुका विरुद्ध नियन्त्रण र विजयको सुरुवातको लागि अर्थात ति शोषण दमनको अन्त्य गर्दै उनिहरुको बन्दुक, बमगोलाबाट मुक्ती पाउन श्रमिक, मजदुर किसान र सम्पूर्ण सर्वहाराहरु एकबद्ध भई युद्ध समाप्तीको लागि युद्धको सुरुवात गरिन्छ । यो समयक्रमले विकास गरेको स्वभाविक र आवश्यक विकल्प हो । यो सबै परिस्थितिले बनाएका गुुलामहरु र तथाकथित बैगम बादशाहाहरुको लगाम अनि गर्वानुभूतको पराकाष्टको अन्त्य पनि हो । न्याय, समानता र हामै्र स्वाभिमानको खातिर सम्पूर्ण शोषण दमनको अन्त्य र श्रमको मुल्य खोज्न र सिकाउँन र स्थापित गर्न बैगम, बादशाहा वा अझै एक्कै बन्ने नैसर्गिकता नै हो । र यो परिस्थितिको अति आवश्यक यथार्थ हो । आनि यो वर्गरहित श्रमशिलताको जीत पनि हो ।
हो युद्ध बमगोला र बन्दुकबाट नै सुरु हुन्छ तर त्यस कर्मको लक्ष्यभेदन भने त्यसबाट मात्र असम्भव नै हुन्छ । त्यसका लागि हाम्रो युद्धप्रतिको प्रतिबद्धतामा स्वतस्फुर्त, आफ्नै इतिहास कोर्ने सृजनशिल, विवेकशिल, श्रमशिलहरुको जनसागर चाहे शस्त्रसहित होस् वा निशस्त्र, अनि मोर्चाबाट होस् वा आफ्नै दैलोबाट होस् उठ्न जरुरी छ । यो आवश्यकतालाई, आफ्नो भाग्यको नियतीलाई सराप्ने र स्वभाविक संघर्षशिलताको जातिय उतारचढावलाई स्वीकार्ने र धार्मीक आस्थाका कारण आफ्नो अगाडीको सुन्दर संसारलाई समेत नदेखेर अदृश्य स्वर्गको कल्पनामा अझ अधोगतिको मार्ग खन्नेहरु लाई पुर्णरुपमा आफ्नो अस्तित्वको हैसियत देखाई वा भोगिरहेको भन्दा सुन्दर संसारको रक्तसञ्चार गराई जसले त्यो सुन्दर र नूतन संसारको रचना गर्नसक्छ, शाषक तहसम्म उठ्ने मार्ग देखाउनु पर्दछ जसबाट उनिहरुमा क्रान्तिप्रतिको वितृष्णा र मालिक—नोकर बन्ने नोकरशाहको भ्रमको अन्त्य पनि गराउनु जरुरी छ । जसले फलामको मान्छे बनेर आफ्नो अस्त्तिव तथा सम्पूर्ण श्रमिकवर्गको सम्पन्नतालाई नयाँ वर्ग विकास, मानव एक श्रमिक वर्ग वा वर्गरहित धर्तीको निर्माण गर्न सहयोग पु¥याउँछ । जब मान्छेमा इन्द्रियहरुले शोषण, दमन, अत्याचारको पूर्णरुपमा अनुभूत गर्छ—जसरी चे ग्वेभाराले पुरै ल्यटिन अमेरिकाको भ्रमणबाट प्राप्त गरेका थिए त्यस्तै गरी जब मान्छेले एक दृढ र सुदृढ हिड्ने गोरेटो एक मात्र क्रान्ति हो भन्ने देख्ने वा अनुभूत गर्छ तब ऊ त्यो यात्रामा कहिल्यै विश्राम नलिइ अविराम हिडिरहन्छ । र त्यो नविन युगको उदय गराउन सक्ने नवमानव बन्छ । त्यसैले हामै्र युद्ध केबल हतियार मात्र होईन विचार र नयाँ युगका अर्को संसारमा बाँच्न सक्ने कठोर नवमानवहरुको निर्माणको एक पहलकदमी पनि हो । समता, श्रम, विवेक र सृजनशिलता र मानविय संवेदनशिल केन्द्रियताको निर्माणका लागि हामी सानो झुण्ड, वर्ग, गुटको विनाशलाई हामी नितान्त आवश्यक र स्वभाविक मान्दछौ । नगन्य एक सामन्त, पुँजीपती, नोकरशाह, जमिनदार वर्गको अन्त्यसँगै विशालतम वर्गको रुपमा श्रमिकवर्ग जो स्वनियन्त्रित महान सचेततापूर्ण कठोर श्रमले लैस भएका मानविय स्वार्थउन्मूख साथै विद्यमान विभेदको अन्त्यका लागि र युद्ध सधैका लागि विस्थापन गर्दै एउटा झिनो सीमा (राष्ट्रिय सिमाङ्कन ) भित्र र एउटा गर्विलो सम्मानित ध्वजा ( राष्ट्रिय झण्डा ) मुनि सम्पूर्ण मानवको अस्तित्व स्थापित गर्न साथै कुनै पनि देशको सिमाङ्कन माथि बसेर अन्धराष्ट्रवादको जयगान गाउदै आफ्नो मुक्तिको दिवालियामा रमाउँदै आँफै लज्जित हुने परिस्थितिको अन्त्य र मानविय समानताको र तहगत वर्गिय अवशेषहरुको अन्त्यका र यस चराचरमा सम्मानित श्रमशिल मानिसहरुको बसोबासको केन्द्र बनाउन समाजवादी अन्तराष्ट्रियवादको सन्देश दिन कुनै एक राष्ट्रको सिमाङ्कन भित्र बसेर अर्को देशभित्र वा एकसाथ दुबै राष्ट्रका श्रमजीविहरुद्वारा एकसाथ गरिने सम्पूर्ण प्रकारका प्रयासहरु नै वास्तवमा क्रान्तिकारी युद्ध हो । यो नै सफलताको मार्ग हो जसमा हाम्रो निशाना हामै्र खुट्टाद्वारा हिडिरहेकाको विरुद्ध छ । र हाम्रो अतित वा भविष्य तिनीहरुको अहमता र वर्गिय विशालताले उठेको हाम्रो स्वभाविक उक्साहावाद नै हो । हामी जसका आधारका खुट्टा हौँ त्यसैका विरुद्ध मात्र नभएर आफ्नै निम्ती खुट्टा हटाएर दृढ उभिने जरुरी अवस्थाको आत्मसाथ नै यस युद्धको सुरुवात हो जो अकाट्य तर कठिन पथ हो जसमा हाम्रौ प्रतिवद्धताले मात्र यसको दुरी नाप्न सकिन्छ ।
यो कुनै रक्तपिपासू वा युद्धपिपासूको ताण्डव त्रासदि वा मानव सभ्यता मै एक कलङ्कका इतिहास रच्ने निकृष्ट कर्मबाट पसिना चुहाउने श्रम गर्ने वर्गको स्वार्थलाई बोकेर आफू उनिहरुको ढाडमाथि उभिने दुस्चेष्टाबाट सत्ता वा लुटको भकारीको मुसा बन्ने अर्को केबल नाममात्र फेरिएको सारमा उहि नोकरशाहाको स्थापना विल्कुल होईन । यो केवल थोरै झुण्ड वा व्यक्तिहरुको चिन्तनबाट लादिएको, डर—त्रास—वा ज्यान जोगाउने वा आफ्ना छोरीचेलीको अस्मिता जोगाउने बाध्यताले निर्देशित नभई श्रमिकवर्ग, सर्वहारा स्वर्थलाई बोकेर स्वतस्फुर्त उठेका छुट्टै धातुका मान्छेहरुको बन्डल हुनेछ । हामी कोहि एउटाको चिन्तनलाई घोकेर उसको आदर्शलार्ई स्थापित गर्ने घोडा दौडाइका घोडा नभएर आँफै चिन्तन गरी स्वार्थ र इच्छाको विश्लेषण गर्ने स्वतन्त्र, स्वनियन्त्रित व्यक्तिहरुको समूह मात्र क्रान्तिकर्मका सच्चा सिपाई बन्न सक्छौ । वा हामी द्वन्द र विश्वासको असल प्रशिक्षार्थी हौ जसले नेतृत्वको चिन्तन गर्ने ठेक्का र अरुलाई कार्यकर्ता बनाएर हामी क्रान्तिकारी बन्नै सक्दैनौ । निरन्तरको क्रान्ति कर्ममा कोहि पनि नेता र कार्यकर्ता मात्र नभई सबै क्रान्तिकारीहरु बन्नुपर्दछ यसले नै हाम्रो क्रान्तिकर्मको लक्ष्यभेदन भई त्यसपछिका नवयुग व्यवस्थापनका चुनौतीहरुलाई सहज बनाउन सकिन्छ । अन्यथा सुविधासम्पन्न मात्र बनाएर पेरिस कम्न्युनको स्वर्ग रच्नुको के माने रह्यो र ? यस अवस्था निर्माणको लागि हाम्रो आन्तरिक संघर्षले चाहे दुई, तीन वा चार, पाँच भन्दा बढी भोटा फटाउन किन नपरोस् । हामी सबै श्रम गर्ने र चिन्तन गर्ने अनि दलाली, नोकरशाहा, पुँजीवादी, साम्राज्यवादी वा विद्यमान राष्ट्रिय सिमाङ्कन माथि हस्तक्षेप गर्ने पशुचिन्तनकाको आलोचनाको तिव्र पर्खाइमा रहन्छौँ किनकी हामीलाई उनिहरु भन्दा अलग्गै देखिनु जरुरी छ । हामी लुट, शोषण र दमनको उन्मुलनका लागि संगठित भएकाले हामी त्यस्तो विद्यमानताको क्रमिकतालाई अपलक हेरिरहन सक्दैनौँ त्यसैले हामी पनि उनिहरुको त्यस एकमात्र उर्जालाई लुटेर श्रमिकहरु माझ पु¥याउने छौँ जसले हामी पनि ति दलालहरुले झैँ निमूखाहरुलाई मानव ढाल बनाई युद्धउन्मादको र बमगोलाको खेती गर्ने भन्दा पर उनिहरुको सच्चा चप्रासी हुने छौ । चाहे यसका लागि एकटुक्रा रोटी र नाङ्गो पिठ बोकेर हिड्न के नपरोस् । हामी कुनैपनि निसस्त्र व्यक्तिहरुलाई चाहे हाम्रा दुश्मनै किन नहुन उनिहरु माथि आक्रमण गरेर हाम्रो उचाई वा जितले उन्मुक्त बन्न सक्दैनौ बरु उनिहरुलाई मानविय ढङ्गबाट श्रमशिविरहरुमा उनिहरुको श्रमता मुताविकको श्रम गर्न लगाएर प्रशिक्षित गर्न सक्छौ तर हामी दुश्मनको किल्ला भन्दा पनि तलतिर झर्नेकाम गर्ने छैनौँ । युद्ध रक्तपातविहिन हुनै सक्दैन र आदर्श पनि हुदैन र यो रमाइलो खेल पनि होइन तर यसो भन्दैमा राज्यसंरचना मथिको नियन्त्रणका प्रयासहरुमा हुने स्वभावीक मानविय क्षतीमात्र सहि हो अन्यथा होइन । अनि निश्चितै रुपमा जनताको चिहानमाथि ठडिएको सालीक अन्तत यो जनबलले कुल्चिन सक्नेछ ।
हामी नचाहिदा बहस गर्ने कुनै औपचारिकता र हिचकिचाउने र हडबडाएर अन्त्यै खुट्टा टेक्ने भन्दा प्रभावकारि हमला गर्ने कुरामा विश्वास गर्दछौ । जुन हाम्रो बाध्यात्मक र एकमात्र विकल्प हो । समाज विकास क्रमले मानिसलाई पूर्णरुपमा अन्धतातर्फ धकेलिरहेको छ । श्रम गर्ने कुराहरुमा आज सबै आफुलाई बन्देज गर्न उद्धत छन् । चोरबाटोबाट जीवनलाई विलासी बनाउने कार्यहरु आज वितत फैलिरहेछ । कोहि अग्लिदै जाने र कोही भासिदै जाने क्रम बढ्दो छ । आजको एक्काइसौँ शताब्दीको यो मध्ये युगमा पनि मानिसहरु दाश हुने र आफ्नो अस्तित्वको लागि बेचिनु पर्ने अवस्था अत्यन्तै लज्जासपद कुरो आज पुँजीवादले अग्लदै गएको विद्वानहरुको देशमा झन तिब्ररुपमा बढ्दै जानु वर्गिय संघर्षका लागि पुर्वाधारहरु हुन । यहाँ श्रम गर्ने र रातोदिन छाला घोट्नेहरु भोकभोकै मर्नु र श्रम नगरि रातारात करोडपती बनिरहनु स्वभाविक झँै छ । जसलाई यहाँ विकासको मापकको रुपमा लिइन्छ । तर उनिहरुलाई राम्रोसँग थाहा हुनु जरुरी छ की ति मुल्यहरु ती श्रमिक वर्गको श्रम र पसिनाको सृजना हो भन्ने कुरा । जहाँ अब मानिस खानैको लागि २१ घण्टा दैनिक घोटिनुपर्ने र मान्छेमा समेत कोहि दाश र कोहि मालिक बन्ने अवस्थामा ती श्रमजीवि जसले यि सम्पूर्ण गगनचुम्बी विकासहरु अरुका लागि निर्माण गरे अब आफ्नै लागि खोस्न जरुरी छ उनिहरुलाई यस्तो अवस्थामा चुप लागेर बस्ने अधिकार किञ्चित छैन । अब मानव अस्तित्वको लागि केबल अन्तिम पटक सबै सर्वहाराहरु यो निकृष्ट खाडलबाट निस्कन ठूलो आधिँबेरी बनेर मख्खिएका ती ठुटाहरु उखेल्न ठूलो बेगले बहनु आवश्यक छ जसले यस अचलामा श्रमशिल नवमानवको निर्माणको मार्गचित्र कोरोस् ।
सम्पूर्ण मानव अस्तित्वलाई एकाध व्यक्तिहरुको छत्रछाँयाबाट मुक्त गर्ने हाम्रो जिम्मेवारी हामी आफै बदलिएर मात्र सम्भव छ । औपचारिकता र आदर्शतामा मात्र सीमित रहेर बनाइने जस्तो सुकै योजना तथा रणनीतिहरु पनि फिक्का हुन्छन् जब हामी आफै बदलिएर कठोर श्रम गर्ने व्यवहारबाट निर्देशित हुदैनौं । जब हामी स्वयं ठूलो आत्मबल, आत्मविश्वास, आत्मनिर्देशन र आत्मनियन्त्रणबाट हाम्रो डर, भय वा तिब्र विजयको अभिलाशामाथि श्रमशिल बनेर निरन्तर कठोर त्याग गर्ने कुरामा विजय पाउँदेैनौ तबसम्म हाम्रो उठाइ केबल लुट भन्दा माथि उठ्न सक्दैन । अब पनि उहि आदिम काल झै अस्तित्वकै लागि वर्गसंघर्षको इतिहासको पटक पटक पुनरावृती र त्यसको निरन्तरताको लागि वर्गरहित र राज्यविहिन राज्य स्थापना गरेर सदाका लागि अन्त्य गर्नुपर्दछ र यसका लागि नयाँ ढङ्गको युद्धको आवश्यकता हुन्छ । युद्ध त हाम्रो संरक्षण र विजयक्रमको लागि आवश्यक साहायक माध्यम माध्यम मात्र हो मुख्य कुरोत सम्पूर्ण श्रमिक, मजदुर, किसान, शोषित पीडित, असक्त तथा अन्य सबै सर्वहाराहरुको एकता र स्वार्थ पहिचानबाट अगाडि बढ्ने दृढ पाइलाहरुको निर्माण नै हो । त्यसका लागि उनिहरुलाई संगठित गर्नु जरुरी छ अर्थात माओ, लेनिन, चे ले प्रयोग गरेजस्तै क्रान्तिकारी संगठनको पनि आवश्यक छ । यसको लागि चेको प्रयोगलाई मध्यम वर्गिय विलासी मात्र नभनेर त्यसै अनुरुप मानविय प्रयोगको लागि क्रान्तिकारीहरुलाई तयार गर्नु जरुरी छ । बन्दुकको नालबाट त युद्धमात्र जितिन्छ तर क्रान्ति कहिल्यै जितिदैन त्यसैले त्यसका लागि पुर्वाधारहरुको विकास लाई पनि निरन्तर रुपमा सँगसँगै लैजानु जरुरी देखिन्छ । तर संसदिय धारबाट कुनैपनि अवस्थामा कुनैपनि युद्ध र क्रान्ति जित्ने र समाजवादको निर्माण गर्ने कुरा असम्भव नै हुन्छ । जसरी १९६५ मा इन्डोनेसियामा क्रान्तिलाई संसदिय धारमा रुपान्तरण गरियो तर अमेरिकी साम्राज्यवादको निर्देशनमा सुहातौले कु गरे जुव वस्तुगत धरातल अमेरिकी साम्राज्यवाद रहदा सम्म रहन्छ । त्यसैले चे ग्वेभाराले जस्तै हामीले साम्राज्यवादको चिहान खन्न आज पनि चार–पाँच मात्र नभई दजनौं भियतनामहरु जन्माउनु पनि उत्तिकै जरुरी छ । त्यसैले सामन्ति, जमिनलदारको जग्गा माथि किसान, भूमिहिन मार्फत कब्जा गर्न सहयोग गर्नु, उद्योग कलकारखानामा मजदुरहरुको नियन्त्रणमा सहयोग गर्नु, सेना पुलिसका नियत्था जवानहरुलाई उनिहरुको परिवार मार्फत उनिहरुका अफिसरहरु माथि असहयोगको वातावरण सृजना गर्नु (यस अवस्थामा हाम्रो प्रयासले उनिहरुका परिवार पनि हामै्र समर्थनका लागि तयार भइसकेका हुन्छन् ), हाम्रो क्रान्तिकर्मको क्षेत्र ग्रामिण इलाकामा रहेका श्रमिक, मजदुर, किसानहरुको दैनिक समस्या खाना, नाना, छाना, स्वास्थ्यको समस्या हुन्छ त्यसको लागि पनि पुँजीपतिहरुको भण्डारण माथि कब्जा गरी खर्च गर्ने अवस्था र उनिहरुसँगै श्रम गर्ने र कोहि पनि कार्यकर्ता र नेता बन्ने अवस्थाको अन्त्य भई सबै चिन्तन गरी कठोर श्रम गर्ने कुरामा दृढ हुनु जरुरी छ । जसका कारण श्रमिक वर्गको उत्पादकत्वमा पनि वृद्धि हुन्छ । जसका कारण उनिहरु स्वाबलम्बि भई उक्त इलाकाबाट राज्यनामका दलालीहरुलाई विस्थापन गर्न सक्छन् ।
युद्ध त हतियारका विरुद्ध मात्र हुन र हतियारको प्रयोग आत्मरक्षा र प्रत्याक्रमणको लागि मात्र हो तर यसो भन्दैमा राज्य संरचना माथिको नियन्त्रणमा हतियारबद्ध आक्रमण नहुने हो भन्ने होईन तर पनि हाम्रो लागि जनताहरुमा कित्ताकाट भई सर्वहारा र दुश्मनको रुपमा विभाजित गर्नु पहिलो आवश्यकता हो । कुनै पनि निशस्त्र व्यक्तिलाई हतियारको दम्भबाट हत्या गर्ने वा आफ्नो समर्थनमा ल्याउने कामहरु भने हाम्रो लागि नाजायज सरह हुन्छ तर उसलाई क्षमता अनुसार श्रमशिविरहरुको निर्माण गरि निग्रानीमा राख्न सकिन्छ । हाम्रो युद्ध श्रमशिल, किसान, मजदुरहरुको उपस्थितिमा सञ्चालन हुने भएकाले हामीमा मानविय शोषणका विरुद्ध संवेदनशिल हुने दृढताको प्रचुर भण्डारण रहेको हुन्छ त्यसैले उनिहरुलाई पनि हामी मानविय व्यवहार मार्फत क्रान्तिप्रतिको विश्वासमा डो¥याउनु आवश्यक हुन्छ । हामी मान्छेको विनाश गरेर मान्छेकै लागि क्रान्ति गर्न सक्दैनौँ किनकी यी त सब दुश्मनहरुको योजना भित्रका कार्यहरु हुन जसबाट हामीलाई भिन्न देखाउनु छ । हामी क्रान्तिकारीहरु अझ बढी उच्च र दृढ मानविय संवेदनशिलताले ओतप्रोत हुनु जरुरी छ । हाम्रा तडकभडकपूर्ण व्यवहारहरु तथा चिन्तन र कर्मको ठेकदारको रुपमा कोहि कसैलाई पनि विभाजन गर्ने कुरामा सधैँ सजग रहनुपर्छ र सिक्ने कुरामा हामी कहिल्यै पनि अहंकारको शिकार बन्नु हुदैन हामी सधै ती सर्वहारा भन्दा केटाकेटी नै हुन्छौ । हाम्रा पिएलए हरुमा कुनै पनि प्रकारको पदिय विभाजन नभई आफैद्वारा व्यवस्थित र निर्देशित भइ लड्ने र चिन्तन गर्ने एउटा प्रगतिशिल अभिबृद्धि तर्फ उन्मूख अग्रदस्ता हुनुपर्दछ केबल क्रान्तिविलास र मालिकले भनेको मान्ने बफादार घोडाजस्ता निमूखाहरुको मानवढाल हुनु अत्यन्तै घृणास्पद कुरो हुनेछ जसमार्फत हामी उनिहरुको बुइ चढी लुट शोषणको लङ्का चढ्न सकियोस् । हामी मानविय प्रयोग मार्फत उनिहरुलाई आफै दिगो परिवर्तन गराउने प्रयोगको हिमायिती हौँ । हामी भोका नाङ्गाहरु तथा जो रगत पसिनामा डुबेर पनि भोकै छ उनिहरुलाई खुवाउने जिम्मा पनि हाम्रो नै हो । जो अभाव र अँध्यारोमा छ उनिहरुले भोगिरहेको संसार भन्दा पनि पर एक शुन्दर संसारको चित्र उनिहरुलाई देखाउनु पनि हाम्रो दायित्व हो । जसका कारण नोकरशाहको विरुद्ध उनिहरु पनि एकजुट होउन् जसले मात्र हाम्रो विजय सुनिश्चित हुन सक्छ । नत्र आजसम्म विश्वमा धेरै विद्रोह भएका छन् तर ती त्यसै गर्भमै तुहिएर गएका छन् । यो हाम्रालागि मार्गदर्शन हो । हाम्रो प्रयास उनिहरुलाई नै प्रतिफल दिलाउने कठोर तर सम्भव महायात्रा हो त्यसैले उनिहरुको संगठन , समर्थन, र साथ विना हाम्रो उत्तेजनाले केही पनि गर्न सक्दैन जसरी कम्बोडियामा पोलपोटको उत्तेजनाले पतन र कलङ्क निम्त्यायो ।
हामी हमला गर्दाको अवस्थामा हुने मानविय क्षतीलाई स्वभाविक रुपमा लिन्छौ तर अन्य अवस्थामा आत्म रक्षाको ध्येय बाहेक दम्भ छोडेर सबै दुश्मन र मित्रहरुमाथि समान मानविय व्यवहार गर्दछौ नत्रत भैरबनाथ गणमा कुनै चेलिलाई माओवादी भनेर बलात्कार हुनु र कुनै पनि व्यक्तिलाई माओवादी भनेर निर्मम हत्या गर्नुमा कुन भिन्नता रह्यो र ? बरु उनिहरुलाई क्षमता अनुसार श्रम गर्न लगाई उच्च मानविय सद्भाव देखाउँछौँ । हामी दुश्मनको टाउको काटेर आफ्नो शिर ठड्याउने जस्तो निकृष्ट कार्य गर्दै दुश्मन भन्दा तल्लो स्तरमा पुग्ने परिस्थितिको कहिल्यै गुलामी गर्ने छैनौँ किनकी हामीलाई दुश्मनको किल्ला भन्दा पर मानविय संवेदनाको कुनाबाट निकैमाथि उठ्नु छ । हाम्रो निशाना केबल ती किटाणूहरुका विरुद्ध छन् जो अझै श्रमजीवि मजदुर, किसान, श्रमिक तथा असहाय, शोषित पीडितहरु साथै सम्पूर्ण सर्वहाराहरुलाई फोहरको थुप्रो सम्झी लडिबुडी गरी रमाउने क्रमिकताबाट निरन्तर चुलिदै छन् । हामीहरु उनिहरुसँग भने कुनै पनि हालतमा सम्झौता गर्ने वा उनिहरुको उदारतामा गएर भासिने कुरामा सहमत हुन सक्दैनौँ । र तिनीहरुको नियतमाथि उनिहरुको मुखमा पसिना, सिँगान र पित्तयुक्त थुक थुक्ने र उनिहरुको पशुचित्कारमा गुहार दिने दलालीहरुका विरुद्ध सस्तो र विवेकहिन आक्रमण गरेर आफ्नो आत्मसम्मानमा र सम्मानित आत्मालाई कहिल्यै नष्ट हुन दिनेछैनौँ । हामी नरसंहारका निम्ती होइन सम्पूर्ण मानवसमाजको पुनर्संरचना गर्ने उद्देश्यका साथ एक लामो यात्रामा सामेल छौँ जसमा सम्पूर्ण सर्वहारावर्गको पूर्ण सहयोग रहेको हुन्छ । त्यसैले हामी अतालिएर दिग्भ्रमित हुनु छैन किनकी हाम्रो विजय अकाट्य छ । हामी सस्तो प्रयासबाट विजयी हुन चाहदैनौँ किनकी हामीमा त्यति छिट्टै यसलाई गुमाउने निहित स्वार्थ छैन । हामी त श्रमिक, मजदुर, किसान तथा सर्वहारा वर्गलाई शाषक तहसम्म उठ्ने भ¥याङ्ग मात्र बन्नेछौँ जसबाट उनिहरु सजिलै आफै मालिक बनुन । जसले उनिहरुलाई विभाजित राज्यको सामूहिक स्वामित्व दिलाइ सबैलाई श्रमशिल बनाई समाजवाद निर्माणको गोरेटो खनोस् ।
हामीलाई त जीवनभर दुखाइ रहनेछ । हामी आफु एक देशको सिमाङ्कन भित्र मुक्त भएर रमाएर बस्ने फुर्सद कहाँ छ र अन्य मुलुकहरुमा पनि हामी जस्तै उच्च मानिसहरु अभाव, शोक, रोग, भोक, पुँजीवाद, सामन्तवाद, सम्राज्यवादका विरुद्ध जुन संघर्षको सुत्रपात गरेका छन्, उनिहरुलाई हरतरह सहयोग गर्ने उनिहरुको अस्तित्व र स्वाधिनताका लागि त्याग नगरेर हाम्रो दुखेको मनलाई टाल्न सक्दैनौं । हामीलाई मानव हुनुको नाताले यो अन्तराष्ट्रियवादलाई हाम्रो दायित्वको रुपमा लिनुपर्ने कुराहरु एकदमै जरुरी छ । किनकी हामीहरु मात्र यो धर्तीलाई मुक्त गर्नसक्ने एकमात्र क्रान्तिकारीहरु हौँ । हामीलाई कुनै पनि सीमाले मानविय उद्दारको निम्ती रोक्न सक्दैन, यो नै हाम्रो वर्गसचेतना हो । यसका लागि हाम्रो मृत्यु समेत सामान्य र स्वभाविक हुन्छ । हामीलाई कुनैपनि श्रमजीविलाई देश वा भुगोलको आधारमा वर्गिकरण गर्ने अधिकार छैन । हामी अरुको कुनैपनि स्वाधिन सिमाङ्कन माथि आक्रमण गरेर वा हस्तक्षेप गरेर आफ्नो सम्मानित आत्मा र हाम्रो मानविय नियत माथि कलङ्कको टिका लगाउन चाहदैनाँै । हामी श्रममा विश्वास गर्ने भएकाले त्यस सिमा भित्र पनि सहयोग गर्ने अधिकार राख्दछौँ किनकी हामी मात्र यस धर्तीका एकमात्र निर्माता हौँ । आजसम्म ठडिएका गगनचुम्बी विकासहरु हामै श्रमको उपज हो । कोही अरुलाई कुनै पनि समाजमा जन्मेर कुनै मान्छेको कोखमा हुर्किएको आधारमा मानव भन्ने अधिकार छैन न की यसले मानविय अपमानलाई निश्चित गर्छ तर पनि मानव गतिशिल रुपमा प्रगतिशिल अभिबृद्धि तर्फ उन्मूख हुन सक्ने हुदा उनिहरु आफै मेरो समर्थन वा असमर्थनका बीचमा पनि शुन्दर फुल हुन । श्रम विना कसैलाई पनि मानव भन्ने अधिकार रहदैन त्यसैले हाम्रो लडाईं सम्पूर्ण मानवहरुलाई नवमानवको रुपमा स्थापना गराउनु नै हो । हामी कुनै पनि संवैधानीक वा कानुनी कागजको निम्ती मात्र लड्दैनौं किनकी यीनिहरु कागजी अमृत मात्र हुन । श्रमशिल, र उच्च किसिमका मानवलाई जो माथि नै ब्याख्या गरिएको छ का लागि कुनैपनि पनि बन्देजको आवश्यकता पर्दैन, हाम्रो प्रयास त्यतै तर्फ हुनेछ । तर मुर्ख र दानवहरुलाई बन्देजले कुनै खास महत्व राख्दैन । त्यसैले मानवलाई कुरुप भावनाबाट निकै माथि उठाउनु मात्र हाम्रो स्थायित्व हो । हामी जस्ता कर्मशिल, श्रमजीवि कठोर परिश्रम गर्नसक्ने मानिसहरुका लागि संविधान र कानुनका कुनै पनि कागजले कुनै पनि विशिष्ट महत्व राख्दैन । हाम्रो प्रयास तमाम शोषणका विरुद्ध श्रमशिल नवमानवहरुको निर्माण गर्नु र उनिहरुको श्रमको स्वामित्व स्थापित गर्नु मात्र हो । यस बाटोमा नवमानव निर्माण र समाजवादको स्थापनाको लागि विजययात्राको लामो कठिन बाटोमा मसाल बोकेर दृढ अघि बढिरहेका उच्च मानवहरुलाई सलाम !!!
0 comments:
Post a Comment