प्रचण्ड अपेक्षाको घेरामा

इतिहासको अति महत्वपूर्ण र संवेदनशिल संक्रमणकालिन तथा परिक्षणकालिन समयको प्रवाह अहिले चलिरहेको छ । नेपाली इतिहासमा यस समयमा एकप्रकारको गणतन्त्र पनि देखापरिसकेको छ । अनि जननिर्वाचित प्रतिनिधि मार्फत संविधान बनाउने नाममा भोकानाङ्खाहरुको भिडबाट अरबौं लगानीमा संविधानसभा खडा छ । जसलाई म उपलब्धी मान्न सक्छु न दुर्गति नै । एउटा भोको मान्छेको लागि संविधानरुपी खोस्टोको कागजी अमृतले कुनै विशिष्ट वा बेग्लै महत्व राख्दैन । त्यसैले यो कहिल्यै उपलब्धी रहेन् । e=mc2 ले अल्वर्ट आइस्टाइनले एटम बम बनाए हामीलाई पनि त्यो सुत्र थाहा छ तर पनि हामी असक्षम छौ किनकी हामीसँग त्यसको लागि पुर्वाधार छैन । अत यो संविधानसभा हाम्रो लागि विशाल शक्तिले भरिएको सुत्र नबनोस् । 

संविधानसभाले नेपालमा राजनैतिक शुन्यतामा एउटा नयाँ तरङ्ख पैदा गरेको छ । विशाल अवसरहरु र अथाहा चुनौतीहरु बिच नयाँ सरकार बनेको छ । जुन सरकारको धरातल एउटा रक्तमूछेल रणभूमी छ जसमा हजारै जनताको बलिदानीको आलो इतिहास छटपटाइरहेको छ । जसबाट नेपाली जनताले ठूलो आशा र भरोसा हुर्काएर राखेका छन् । 

विगतका समयहरु शासकको राज्य, काठमाण्डौ साथमा जनता दुहुनु गाइ जसको विवशता र स्वार्थको विदेशी दाममा लिलाम गर्न सहज र राजालाई विष्णु मान्ने एउटा कालखण्ड त समाप्त भएको छ तर त्यसले एउटा रिक्तता दिएर गएको छ जसलाई शुन्यबाटै भर्नु पर्नेछ । गरिब, निमूखा, असाहाय, भोकानाङ्खा, अपाङ्ख, टुहुरा, विद्युवा, सडकबालबालिका, भरिया, ज्यामी, मजदुर, घरेलु हिसांंबाट पीडित महिलाहरु, असक्त, दलित, महिला, जनजाती आदिबासी, मधेशी, हिमाली, पहाडी, तराईबासी, किसान तथा मजदुरहरु, भूमीहिन, आवासविहिन, हरुवा–चरुवा, हलिया, गोठाल, नोकर, दासि, कमारा–कमारी, सुकुम्बासी, तथा सम्पूर्ण शोसित, पीडित, दमित वर्गहरु जस्ता धर्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक उत्पीडतनबाट पिल्सिएका अनि वर्गिय, लिङ्खिय, जातिय, क्षेत्रिय उत्पीडनको जाँतोमा पिसिएका बहुसङ्ख्यक किटाणुहरुको थुप्रो छोडेर अझैपनि उ महलमा ’मानव’ अस्तित्वको असलिरुपलाई बदनाम गरिरहेको छ । जसले ति नोकरशाहि र तिनिहरुका आज्ञाकारी पिछलग्गुहरुको राजनीति प्रति आम जनताको उत्तरदायित्व रहन्न भन्ने यथार्थतालाई समेत चुनौती खडा गरिदिएको छ । 

हो यहि वस्तुगत धरातलबाट अबको प्रचण्ड सरकार एउटा विशाल जनअपेक्षाको घेराबन्दिमा उभिएको छ । यो सरकारले तिनिहरुले विताईरहेको मुल्यहिन जीवन भन्दा पर त्यो भन्दा राम्रो जीवन छ भन्ने कुराको अनुभूत गराउ सक्नुपर्छ । अन्यथा समय र इतिहासले पटक पटक गल्ति गर्छ भन्ने भ्रमको पर्दा उतारिदिनेछ । जनताले ठूलो अपेक्षाका साथ एउटा पूर्ण रुपान्तरित र ग्यारेन्टेड जीवनभूमि खोजेका छन् । यसैको लागि यो सरकार एउटा ठूलो पहाडको बोझबाट थिचिएको छ । अर्कोतर्फ संंविधानसभा मार्फत बनाउने संविधान जनमूखी र विशिष्टताको द्योतक बनाउन पुर्वाधारहरु र संरचनाहरुको निर्मणको लागि यो सरकारले आधारशिला पनि तयार गर्नुपर्ने देखिन्छ । यस समयमा जनताले आफ्नो सुनिश्चित भविष्ययुक्त जीवनको साच्चिकै ग्यारेन्टी मागेका छन् अनि शान्ति शुव्यवस्था र यो अनियन्त्रित होहोल्लायुक्त माहौललाइ चिर्दै स्वनियन्त्रित र स्वशासित सभ्य समाजतर्फका रुपरेखा पनि यसै सरकारले निमार्ण गर्नुपर्ने महान् चुनौती पनि सामुन्ने खडा छ । विदेशीयका हातहरु स्वदेशमै पसिना चुहाउन आतुर छन् यो श्रम पलायन रोक्नुपर्ने पनि छ । साथै अन्तत सम्पूर्ण आन्तरिक अन्तरविरोधहरुलाई पन्छाउन समानता र स्वशासनको पनि स्थापना गर्नुपर्ने छ । 

समयको गहन संवेदनशिलता र सीमितता एकै साथ देखा परेका छन् । नेपाली जनताहरु अब पनि यो सूचना र प्रविधिको वैज्ञानिक युगमा पनि दुईछाक खानैको निम्ती संघर्ष गर्नुपर्ने तितो विवशताको अन्त्य चाहन्छन् । यदि यो सरकार पनि औपचारिकतामै सीमित रह्यो भने परिणाम दुर्भाग्यपूर्ण हुनसक्छ । विगतका शासकले झै कालो चस्मा लगाएर दिउँसै अध्यारो बनाई केवल औपचारिकताको रङ्ख पोती बालुवाटार र सिंहदरबारबाटै आम जनताको स्वभिमान र स्वार्थको लिलाम गर्ने सबै किसिमका गुह्य चटकहरुलाई निरन्तरता नदेओस् भन्ने चाहन्छन् नेपाली जनता । 

नेपाली जनताको इच्छा, आकांक्षा र अपेक्षाहरु सबै ओइलाइसकेका थिए फेरि एकपटक तिनिहरुलाई जीवित गराउन वसन्त बनेर प्रचण्ड सरकार हतारिएको भान हुन्छ । म यी अपेक्षाहरुको घेराबाट सहज ढङ्गले अहम स्वार्थी (आम नेपाली स्वार्थ बोकेर) बनेर उन्मुक्तिको बाटो पहिल्याउन सकोस् भनेर प्रचण्ड सरकारलाई शुभकामना दिन चाहन्छु । यो सरकारले पनि यी यथार्थता माथीको बेवास्ता गर्ने र ती अपेक्षाहरुको घाटि थिचेर मार्ने प्रयास गर्ने अनि सिक्काको विवशताको निकृष्ट खाडलमा फस्ने हो भने आम जनताको शहनशिलताले त्यसदिन तिम्रा अनुहारमा पनि रगत, सिंगान, पसिना र पित्तयुक्त थुक थुक्नेछ । यद्यपी यी फोहोरि खेलको निरन्तरता नै तिम्रा अभिष्ठ भए तिमिहरुलाई नेपाली जनता माथी शासन गर्ने कुनै अधिकार छैन ।

0 comments: