नेपालको शैक्षिक अवस्था र अहिलेको शिक्षा प्रणाली



हुन त नेपालको इतिहासमा आजसम्म कुनैपनि पराक्रमी पौरखी र ईमान्दार जनमूखी सरकार बन्न सकेन तर पनि मात्र राजनैतीक रुपमा भएको कागजी परिवर्तन पनि जनताको बलिदानीबाट मात्र भएको हो । र आजको सरकार पनि त्यसैको जगमा स्थापित भएको निरन्तरता नै हो । यी त सत्ता उन्मादले भरिएका भाँडाहरु हुन् जो जता ढल्के पनि पोखिन्छन् । हुन पनि गर्भमै तुहिएको बाहेक आजसम्म कोहि पनि त्यस्तो व्यक्तित्व वा नेतृत्व तथा सरकार भएन जो मेरो भित्तामा सम्मानले सजियोस् । यस्तै धारिलो परिस्थितिमा नेपालको गरिबी भजाएर लुुटको खेती रच्नेहरु आज राता–रात सडकबाट गगनभेदी महलका भएका छन् तर विडम्बना कोहि यहि माटोमा गरिबी नबेचेर झुपडिमा थन्किएका छन् । यस्तै लापर्वाहिको शिकार नेपालको शैक्षिक क्षेत्र पनि बनेको छ । हुन त त्रि. वि. को शुल्क वृद्धिले सरकारी क्याम्पसहरु पनि प्रईभेट सरह भइसकेको र यसको गुणस्तरहिनताले पनि डाँडो काटिसक्यो । आज सरकारी क्याम्पसहरु तथाकथित स्वःघोषित वुद्धिजीवि तथा सरकारको लापर्वाहिको पराकाष्टले ट्युसन सेन्टरको रुपमा विकसित हुदैछ । प्रायः नैतिकवान भनिएका सरकारी वेतनभोगी शिक्षकहरुको आ–आफ्नो कलेज पनि भएकाले उनिहरु सरकारी क्याम्पसमा हाजिर लागाएर तलब धुत्र्याउने परिपाटी बनिसकेको छ यसले गर्दा सरकारी क्याम्पसको भर्ना भनेको ट्युसन पढ्ने इजाजत पत्र प्राप्त गर्नु हो भन्नु हावादारी गफ मात्र हुदै होइन । किनकी म आँफै यसको भुक्तभोगी पनि हुँ । कुनै पनि क्याम्पस पढ्नुको अर्थ ट्युसन सेन्टर खोज्ने प्रस्थान विन्दु बन्नु र यो संस्कृतीको व्यापकिकरणमा सरकारले नै निरिहता तथा अनविज्ञता प्रकट गर्नु नेपालको शैक्षिक अवस्था प्रतिको ठुलो अपराध हो । बरु बाँकि रहेको यो त्रि.वि. समेत निजिकरण गरेर सरकारले आफ्नो बोझ हुलुका ग¥यो भने सायद एकाघरका एकाध व्यक्तिहरु भनेपनि विदेशिने थिएनन् होला । 

पढ्नुको अर्थ बौद्धिक रुपले मान्छे झैँ देखिनु, प्राविधिक र उत्पादनको हिसाबले आत्मजीवि बन्नु नै हो । त्यसैले यसलाई उत्पादनमूखी र बौद्धिक रुपले विष्फोटक बनाउनु अति जरुरी हुन्छ । तर यस्तै रबैयाको शैक्षिक माहोलले एउटा गरिब डिग्री पास गरेर सर्टिफिकेट बोकेर जागिरको लागि धाउँदा धाउँदा आजित बन्छ र अन्ततः नराम्रो हर्कत तर्फ लाग्छ र अर्को एउटा धनी बाउको छोरो डक्टर बन्छ लाखौ लगानिमा र सरकारी जागिरे बन्छ र उ एकैचोटि सातपुस्ता जोड्न लाग्दछ, कि उ नर्सिङहोम खोली गरिबलाई तर्साउँछ वा उ यसमाथि समेत काला बजारीको तल्लो पतित बिन्दुसम्म झर्छ म यो समूदायको आत्मसम्मानलाई ठेस पु¥याउँने ती हर्कतहरु उजागर गर्न असक्षम छु । आखिर के भयो सरकारी र नीजिको फरकले सबैलाई अपराधको बाटो खुला गरिदिएको छ । यदि यो परिवर्तित समयमा त्यस अनुकुल समृद्ध नेपाल निर्माण गर्ने हो भने नेपालको वर्तमान शैक्षिक स्थितिमा समेत पूर्णरुपले संरचनाकृत हुनु जरुरी छ । अबको शिक्षालाई सर्टिफिकेट र वेतनभोगी अनुत्पादक जागिरेको बन्ने माध्यम नभई उत्पादनमूलक प्राविधिक, बौद्धिक र नैतिक रुपको संगमको रुपमा विकसित गराउनु जरुरी छ । 

हुन त भिखारी र टपरेहरुको राज्यमा श्रम र उत्पादनको अस्तित्व कमै हुन्छ । तर पनि साच्चै अभिनव नेपालको निर्माण तर्फ सोच्ने हो भने नेपालको सबै युवाशक्तिलाई उचित व्यवस्थापन नगरेर सम्भव छैन । सबैलाई शिक्षा र शिक्षित जति सबै वेतनभोगी अनुत्पादक बन्नुपर्ने मानसिकता तथा यो धरातलिय यथार्थताबाट माथि नउठ्ने ढङ्गको शैक्षिक उन्नतीले नेपाल विकास हुने अवस्य होईन । नेपालको विकासको आधारशिला भन्नु नै सम्पूर्णद्वारा श्रमिक व्यवस्थापनमा आधारित परिक्रमित कडा परिश्रम नै हो । यदि सबै व्यक्ति शिक्षित हुन्छन् भन्नुको अर्थ सबै समस्याको साध्य पनि हो र तिनिहरुलाई उत्पदक श्रममा सहभागी गराउने हो भने त्यो व्यवस्थापन नै अब्बल दर्जाको बन्नेछ र त्यसबाट उत्पादकत्व पनि अस्वभाविक रुपमा बढ्नेछ । यदि विद्यमान शैक्षिक आयमहरुलाई समयोचित सुधार गरेर श्रमउन्मूख, उत्पादनमूखी बनाइयो भने, उदाहरणको लागि एउटा व्यक्ति जब स्कुल पास उ कम्तीमा पनि १६ वर्षको हुन्छ र उ शारीरिक र मानसिक रुपले सबल हुदै गर्छ र उसलाई यदि कलेज पढ्दा २ घण्टा दैनिक (अवस्था अनुसार) उत्पादनमूलक क्षेत्रमा काम दिइयो भने मलाई लाग्दैन त्यो शैक्षिक रुपमा कुनै पनि कोणबाट असफल बन्छ । उ जब स्नातक तहमा पुग्छ तब उसलाई त्यस्तै ३ घण्टा काम दिइयो र उ स्नातकोत्तर तहमा पुग्छ उसलाई ४ घण्टा दैनिक काम दिइयो भने उ अन्तिममा यति सबल, सक्षम, पौरखी, नैतिकवान, विवेकशिल तथा जिम्मेवार बन्छ त्यसको आँकलन अस्वभाविक हुन्छ । मलाई लाग्दैन एउटा डक्टर पढ्दै गरेको व्यक्तिलाई ३ घण्टा काम गरेर उ असफल हुन्छ उ कसैले माने पनि नमाने पनि झन सफल र जिम्मेवार बन्छ । यसको मतलब यो व्यवस्थामा कुनै पनि क्षेत्रको शैक्षिक वातावरण धमिलाउने धुलो रहन्न तर यसले अर्थव्यवस्थाको अमृतजलको काम भने गर्छ भन्नेमा शंका रहन्न । यदि सामूहिक कृषी औधोगिकिकरणको व्यापकिकरणमा ध्यान पु¥याउने हो र हाम्रो वौद्धिक जनशक्ति मार्फत व्यवस्थित गराउने संकल्पका साथ सम्पूर्ण नेपालीहरु एकजुट हुने हो भने नेपाललाई विश्वको नमूना बनाउन सकिन्छ । यदि यस्तो व्यवस्था बनाउन सकियो भने नेपालको विद्यमान अवस्थाको पदिय ऋङ्खला र अनुत्पादक कर्मचारीतन्त्र पूरै यसैमा विलय हुन जान्छ । र वर्तमान विश्व वातावरणमा घुमिरहेको कालो घनघटा जस्तै अर्थव्यवस्थाको व्यवस्थापन र श्रमिक बिचको नियती समेत तोडिनेछ । यस्तो किसिमको जनशक्ति व्यवस्थापनले मात्र नेपालको अर्थव्यवस्थालाई प्राण हाल्न सक्छ । र अर्को तर्फ राज्यले यसको बदलामा निशुल्क शिक्षा, स्वास्थ्य र जनताको भविष्यको ग्यारेन्टि गरिदिनु कुनै विशेष तथा गम्भिर र बेग्लै अकाश खस्ने परिघटना बन्दैन । 

यसर्थ नेपालको वर्तमान अवस्थाको राजनैतिक केटाकेटीपन तथा किच्चकपनबाट माथि उठेर हड्डी बोक्ने मानिसको पछि लाग्ने कुकुरजस्ता कार्यकर्ताहरुको बेमौसमि थुप्रोबाट अब कोहि कर्ता र कोहि कर्म बन्ने अवस्थाको अन्त्य भई सबै श्रमशिल बन्ने हो भने नेपालको उन्नती सम्भव छ । अन्यथा दिनानुदिन भुसुनाका भुरा झैँ थपिँदो जनसङ्ख्याले यो सिङ्गो भूमी निल्नेछ र त्यसदिन पछुताउनुको कुनै तुक रहन्न । एकपटक मात्र सोचौं त शहरी क्षेत्रमा हुर्कदै पढेकोे आजकालको पासपोर्टे शिक्षाले यदि अनुत्पादक जागिरे बनेन भने धर्ति चिरेर सुन झुलाउँने र चट्टान फुटाएर प्यास मेट्न नसकेर अन्तत व्यर्थ मर्छ भन्ने तर्फ सजकता नअपनाउने हो भने नेपाल भिखारी र चरम दरिद्र बन्ने अवश्यंभावी छ । जानकारी होस् यो अवस्थामा कोहि पनि उत्पादक श्रमिक भोक भोकै मर्नेछैन र त्यो दिन गाउँ शहरको भोक र प्यास मेट्न बाध्य हुनेछैन । यदि नेपाली युवाहरुलाई विदेश पठाएर रेमिटेन्स जम्मा गराएर फेरी विदेश मै माँड किन्न धाउने हो भने केहि भन्नु छैन तर जबसम्म भोकको क्याप्सुल बनेर, बिना पदार्थ र बिना श्रम निशुल्क बजारमा आउँदैन तब सम्म श्रमको विकल्प विश्वको कुनै कुनामा छैन । अन्यथा माटोको नामसारी गरेर कागजी खोष्टोले श्रम किन्ने दुश्साहसको छाँयामा रुमलिएको यो धरातल कुनै दिन निर्विकल्प माटोमै मिल्ने छ ।


0 comments: